चलचित्र ‘माग्ने राजा’काे ‘म त सुतेर उठेको पैसामा’ गीत सार्वजनिक भएसँगै दर्शकले माग्ने बुढा अर्थात् केदार घिमिरेलाई नयाँ स्वरुपमा देख्न पाउने पक्का भएको छ ।
निर्देशक ऋषि लामिछानेले भने ‘यो गीतसँगै हामी सिनेमाको मुद्दामा प्रवेश गरेका छौँ । दर्शकले केदार घिमिरेलाई बिल्कुलै नयाँ अवतारमा देख्न सक्नुहुनेछ ।’ यसो भनिरहँदा निर्देशक लामिछानेले सिनेमाले कमेडी शैलीलाई भने नछाडेको बताए ।
निर्माण घोषणासँगै चर्चामा रहेको सिनेमा ‘माग्ने राजा’को प्रदर्शनको दिन नजिकिँदै जाँदा यसका प्रचार सामाग्रीले पनि दर्शक लोभ्याउँदै गएका छन् ।
पोस्टर रिलिज गरेर आक्रामक प्रचारमा उत्रिएको सिनेमाले अहिलेसम्म दुई गीत र टिजर सार्वजनिक गरिसकेको छ । जसमध्ये एउटा गीतले ठिकैको माया पाएको भएपनि टिजर र हालै सार्वजनिक भएको गीत ‘म त सुतेर उठेको पैसामा’ले दर्शकको राम्रो माया पाएका छन् ।
सिनेमाको टिजरले हालसम्म १२ लाख हाराहारी माया पाइसकेको छ भने ५ दिनअघि सार्वजनिक ‘म त सुतेर उठेको पैसामा’ले छोटो समयमै २१ लाख भ्युज प्राप्त गरेर सिनेमालाई दर्शकमाझ थप प्रतीक्षित बनाएको छ ।
ऋषि लामिछानेको निर्देशनमा निर्माण भएको सिनेमा भदौ ६ मा प्रदर्शनमा आउँदैछ । मुनाल घिमिरेको निर्माणमा तयार भएको सिनेमामा विल्सन विक्रम राई,वर्षा सिवाकोटी, शिशिर वाङदेल, शारदा गिरी, राधिका कँडेल आदि कलाकारको अभिनय रहेको छ । नरेन्द्र मैनालीको छायांकन, मित्र गुरुङको सम्पादन, दीपक शर्मा र बाबुल गिरीको संगीत रहेको सिनेमालाई सामीप्य राज तिमल्सेनाले लेखेका हुन् ।