बुटवल— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जिल्ला अदालत रुपन्देहीले गरेको आदेशविरुद्ध उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा निवेदन दिएका छन् ।

जिल्ला अदालतले बिगो बुझाउँदा पनि छाड्न अस्वीकार गरेपछि रिहाइको मागसहित लामिछाने सोमबार उच्च अदालत पुगेका हुन् ।

सुप्रिम बचत तथा ऋण सहकारीको ठगी प्रकरणमा लामिछानेले आफ्नो दायित्वमा पर्ने दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको धरौटी रकम बुझाएर छाड्न माग गर्दै निवेदन दिएका थिए । तर उक्त निवेदनलाई जिल्ला अदालत रूपन्देहीले बदर गरेको थियो ।

रविले दिएको उक्त निवेदनमा पेसीको मिति यकिन भइसकेको छैन ।

रवि हाल सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनको मुद्दामा पुर्पक्षका लागि रुपन्देहीबाट सरुवा भएर ललितपुरस्थित नख्खु कारागारमा छन् ।

गत चैत्र २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।