काठमाडौं— सहकारी ठगी मुद्दामा ललितपुरको नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो रिहाइको माग गर्दै दिएको निवेदनमाथि आज (बुधबार) सुनुवाइ हुँदैछ । 

उच्च अदालत तुल्सीपुरको बुटवल इजलासका न्यायाधीश सागर विष्टको इजलासमा उक्त निवेदनको पेसी परेको छ ।

आफ्नो भागको बिगो रकÞम दाखिल गर्दा पनि रुपन्देही जिल्ला अदालतले रिहा नगरेपछि उनले यही भदौ ९ गते उच्च अदालतमा निवेदन दिएकोमा आज पेसी चढेको हो ।

यसअघि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनको निवेदनमा सुनुवाइ गर्दै रिहा गर्न अस्वीकार गरेको थियो ।  

रुपन्देहीस्थित सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोग पत्र दायर गरिएकोमा  रविले त्यसको चार भागमध्ये आफ्नो भागको एक भाग बराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत निवेदनसाथ पेस गरेका थिए । 

जिल्ला अदालतले उनको भागमा कति बिगो कायम हुने भन्ने नै यकिन नभएको, जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटीमा रिहा गरे पनि उच्च र सर्वोच्च अदालतबाट थुनामै राख्ने आदेश भएकाले पुनः उनलाई थुनामा राख्ने कि नराख्ने भन्ने विषयमा प्रवेश गर्न नमिल्ने भनेको थियो । 

उनका विरुद्ध कास्की, काठमाडौं, चितवन र पर्सामा पनि सहकारी ठगीका मुद्दा छन् । कास्कीमा सहकारी ठगी र संगठित अपराधका अलावा सम्पत्ति शुद्धीकरणको मुद्दा पनि दायर भएको छ । 

सम्पत्ति शुद्धीकरण मुद्दाकै कारण उनको सांसद पनि निलम्बनमा परेको छ ।