काठमाडौं— नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा स्थायी समितिले गरेका निर्णयहरुको कार्यान्वयन, कार्यविभाजन, अभियान र महिला सम्मेलनको बारेमा छलफल भएको छ । 

बिहीबार बसेको पदाधिकारी बैठकमा उक्त विषयमा छलफल भएको पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका हुन् । 

उनले भने,‘स्थायी समितिले गरेका निर्णयहरुको कार्यान्वयनका सन्दर्भमा बैठक केन्द्रीत थियो । एकतामा आएका कमरेडहरुको कार्यविभाजनको कुरा थियो, अभियानका कुराहरु पनि थिए, महिला सम्मेलनको बारेमा कुराकानी थियो ।’

यस्तै, बैठकमा पार्टीको आन्तरिक र बाह्य रुपमा सबै पक्षलाई समेटेर छलफल गर्न त्यसको मोडलहरु फिक्स गरेको र भदौ २१ गतेदखि सञ्चालन हुन लागेको मध्यपहाडी लोकमार्गको अभियानलाई प्रभावकारी बनाउने हिसाबमा छलफल भएको बताए । 

उनले भने, ‘निर्णय भनेको अहिले बर्खाको समयमा ठूला ठूला सभाभन्दा पनि अन्तरक्रिया, अन्तर संवाद, पार्टीको आन्तरिक र बाह्य रुपमा सबै पक्षलाई समेटेर छलफल गर्दा ठिक हुन्छ भनेर त्यसको कार्यक्रमको मोडेलहरु फिक्स गरियो । यही २१ गतेदखि मध्यपहाडी लोकमार्गको अभियान सञ्चालन गर्दैछौ । यसलाई बढि प्रभावकारी बनाउने हिसाबमा छलफल भयो ।’

साथै, सरकारले जनताको कुरा नसुनेको, सुशासनको अवस्था कमजोर भएको, भ्रष्टाचार बढेको अवस्थामा सडक संघर्षको तयारी थाल्ने बारे पनि छलफल भएको उनको भनाई छ ।