विराटनगर—  विराटनगरस्थित भाटभटेनी सुपरमार्केटको भवनमा जलेको अवस्थामा एक शव फेला परेको छ। सोमबार दिउँसो सुपरमार्केटको दोस्रो तल्लामा पूर्णरूपमा जलेको अवस्थामा शव भेटिएको मोरङ प्रहरीले जानकारी दिए ।

कंकाल कसको हो भन्ने खुल्न नसकेको मोरङका एसपी नारायणप्रसाद चिमोरियाले बताए । हालैको जेनजी प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले विराटनगरको भाटभटेनीमा आगजनी गरेका थिए । प्रहरीको प्रारम्भिक अनुमानअनुसार, सोही आगजनीको बीचमा लुटपाटका लागि भित्र पसेका एक व्यक्तिको जलेर मृत्यु भएको हुन सक्छ । “शव पूर्ण रूपमा जलेको अवस्थामा भेटिएकोले पहिचान गर्न कठिन भइरहेको छ,” चिमोरियाले भने, “हामी घटनाको थप अनुसन्धान गर्दै छौँ ।”

सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध र बढ्दो भ्रष्टाचारविरुद्ध जेनजी प्रदर्शन भएको थियो । सोही क्रममा विराटनगरसहित कोसी प्रदेशका विभिन्न स्थानमा रहेका भाटभटेनीका शाखाहरूमा तोडफोड र आगजनीका घटना भएका थिए ।

विराटनगरको भाटभटेनीमा प्रदर्शनकारीहरूको एउटा समूहले एटीएम मेसिन तोडफोड गर्ने प्रयास असफल भएपछि आगजनी गरेको बताइएको छ, जसका कारण सुपरमार्केट पूर्णरूपमा नष्ट भएको थियो । घटनाको दौरान अन्य व्यक्तिहरू पनि हराइरहेको आशंकामा प्रहरीले खोजी कार्य जारी राखेको छ ।