काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच रसुवाको भोटेकोशी बाढीपछि जारी उद्धार तथा राहत अभियानबारे छलफल भएको छ।


सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा बाढी प्रभावित क्षेत्रमा भइरहेको खोजी, उद्धार, राहत वितरण र नागरिक व्यवस्थापनका विषयमा छलफल भएको हो।


भेटमा बाढीका कारण प्रभावित नागरिकको तत्काल उद्धारसँगै उनीहरूलाई राहत सामग्री सहज रूपमा उपलब्ध गराउने र क्षति पुगेका भौतिक संरचनाको पुनःस्थापना अघि बढाउने विषयमा समेत कुराकानी भएको थियो।


प्रधानमन्त्री शाहले विपद् प्रभावित क्षेत्रमा नागरिकको जिउधनको सुरक्षा, राहतको पहुँच र पुनःस्थापनाका लागि सरकारी संयन्त्र पूर्ण क्षमतामा परिचालन गरिएको जानकारी लामिछानेलाई गराएका थिए।


बाढीबाट ठूलो जनधनको क्षति भएपछि सरकारले खोज तथा उद्धारलाई तीव्र बनाउँदै राहत र पुनःस्थापनालाई प्राथमिकतामा राखेको छ।