काठमाडौं— नेपाल ट्रक यातायात व्यवसायी महासंघले जेनजी आन्दोलनका क्रममा लुटपाट तथा चोरी भएका सामग्रीको ढुवानी नगर्न आफ्ना सदस्य व्यवसायीहरूलाई आग्रह गरेको छ।

महासंघका महासचिव राजेन्द्रविक्रम बानियाँद्वारा सोमबार जारी सूचनामा भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा विभिन्न पसल, गोदाम तथा सरकारी कार्यालयहरूमा भएको आगजनी र तोडफोडसँगै चोरी भएका सामान अवैध रूपमा ट्रकमार्फत ओसारपसार हुने आशंका व्यक्त गरिएको छ।

'उक्त सामग्रीमा हतियार, इलेक्ट्रोनिक्स तथा अन्य महत्त्वपूर्ण उपकरणहरू पर्न सक्ने भएकाले यस्ता वस्तुहरूको ढुवानी गैरकानुनी कार्यमा गनिन्छ,' महासंघले जनाएको छ।

महासंघले आफ्ना सबै सदस्य संघ–संस्थालाई सजग रहन आग्रह गर्दै चोरी वा लुटपाटमा परेका सामग्री ओसारपसार भएमा कानूनी कारवाहीको भागीदार बन्न सक्ने चेतावनी पनि दिएको छ।

उक्त सूचनामार्फत महासंघले ट्रक व्यवसायीहरूलाई संवेदनशील परिस्थितिमा जिम्मेवार ढंगले व्यवसाय सञ्चालन गर्न र शंकास्पद सामानहरूको जानकारी सम्बन्धित निकायलाई दिन अनुरोध गरेको छ।