विराटनगर— बिराटनगर महानगरपालिका–१७ मटेरुवा क्षेत्रबाट प्रहरीले स्रोत नखुलेको अवैध रकमसहित एक जनालाई पक्राउ गरेको छ। मंसिर १७ गते कोशी प्रदेश प्रहरी कार्यालयअन्तर्गतको प्रादेशिक अनुसन्धान समूहबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको को २४ प ७९८४ नम्बरको मोटरसाइकल रोकेर निरीक्षण गरेको थियो।
चालक बिराटनगर महानगरपालिका–१८ का रवि शाहले साथमा ६ लाख ४९ हजार ५ सय रुपैयाँ लुकाइछिपाई ल्याइरहेको अवस्थामा प्रहरीले फेला पारेपछि उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका शाहलाई इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको र घटनाबारे आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






































