काठमाडौं— निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ राजनीतिक दलहरूले पेस गरेका बन्दसूचीमा देखिएका त्रुटि सच्याउन दलका प्रतिनिधिसँग छलफल गरिरहेको छ।
आयोगका अनुसार बन्दसूचीमा समावेशी समूह (क्लष्टर) मिले/ नमिलेको विवरण जाँच गरी कमजोरी देखिएका दललाई सच्याउन आग्रह गरिएको छ। सूची जाँच र छलफलपछि आवश्यक सुधार गर्न यही पुस २० गते औपचारिक पत्राचार गरिनेछ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बुधबार १२ वटा राजनीतिक दलका प्रतिनिधिसँग छलफल भएको जानकारी दिँदै आज पनि थप १२ दलसँग छलफल गर्ने कार्यतालिका रहेको बताए।
यसअघि पुस १३ र १४ गते गरी ६४ राजनीतिक दलले आयोगमा समानुपातिकतर्फको बन्दसूची पेस गरेका थिए। तीमध्ये २२ दलले मात्रै ११० वटै स्थानमा उम्मेदवार सिफारिस गरेका छन्। औसतमा प्रतिआयोग चिन्ह ६० जनाले उम्मेदवारी दिएको देखिएको छ भने न्यूनतम ११ स्थानमा मात्रै बन्दसूची पेस गर्ने दल १० रहेका छन्। एकल निर्वाचन चिह्न लिने दलको सङ्ख्या पनि १० रहेको आयोगले जनाएको छ।
यद्यपि ९३ राजनीतिक दलले समानुपातिक प्रणालीमा सहभागी हुन आवेदन दिए पनि अन्ततः ६४ दलले मात्र बन्दसूची पेस गरेका हुन्।
आयोगले पुस २१ देखि २७ गतेसम्म दलहरूलाई विवरण सच्याउने समय दिनेछ। त्यसपछि पुस २८ देखि माघ ३ गतेसम्म संशोधित सूचीको जाँच हुनेछ। अन्तिम बन्दसूची भने आगामी माघ २० गते प्रकाशन गरिने आयोगले जनाएको छ।
समानुपातिक प्रणालीतर्फको निर्वाचन व्यवस्थापनका लागि आयोगअन्तर्गत स्थापित निर्वाचन अधिकृतको कार्यालयमा तथ्याङ्क, प्रविधि तथा कानुनी क्षेत्रका विज्ञहरू कार्यरत छन्।






































