काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीपछि नेपालका विभिन्न क्षेत्रमा अलपत्र परेका ११७ विदेशी पर्यटकको उद्धार गरिएको छ । नेपाल पर्यटन बोर्डका अनुसार उद्धार गरिएका पर्यटकमध्ये अधिकांश भारतीय नागरिक छन् ।

हालसम्म ८५ भारतीय, १६ चिनियाँ, ९ कोरियाली, २ अमेरिकी र २ इटालियन पर्यटकको उद्धार गरिएको बोर्डले जनाएको छ । उद्धार गरिएका अन्य तीन पर्यटकको भने पहिचान खुल्न बाँकी छ ।

तर, उद्धार अभियान चलिरहे पनि बाढीका कारण अझै ६ सयभन्दा बढी पर्यटक सम्पर्कविहीन रहेको पर्यटन बोर्डले जनाएको छ । यसले विपत्तिपछि विदेशी पर्यटकको अवस्थाबारे थप चिन्ता बढाएको छ । विशेषगरी कैलाश मानसरोवर यात्राका लागि नेपाल हुँदै चीनतर्फ गएका तथा जाने क्रममा रहेका धेरै पर्यटक सम्पर्कविहीन रहेको ट्रेकिङ तथा टूर कम्पनीहरूले बताएका छन् ।

भोटेकोशी क्षेत्रमा आएको बाढीपछि सडक तथा यातायात सम्पर्क प्रभावित हुँदा पर्यटकहरू विभिन्न स्थानमा अलपत्र परेका छन् । उद्धार गरिएका पर्यटकलाई सुरक्षित स्थानमा ल्याउने तथा सम्पर्कविहीन रहेकाहरूको अवस्थाबारे जानकारी लिने प्रयास भइरहेको छ ।

पर्यटन बोर्ड, सुरक्षा निकाय तथा सम्बन्धित ट्रेकिङ र टूर कम्पनीहरू पर्यटकको खोजी तथा उद्धारमा जुटेका छन् । सम्पर्कविहीन पर्यटकको यकिन विवरण संकलन गरी उनीहरूको अवस्थाबारे जानकारी लिने काम पनि भइरहेको छ ।