काठमाडौँ । जाजरकोटको ऐतिहासिक सेतो दरबार फेरि पनि संकटमा परेको छ । १९९० साल र २०४५ सालका विनाशकारी भूकम्पले पटक–पटक क्षतिग्रस्त बनाएको यो दरबार ०७२ सालको भूकम्पपछि झन् जीर्ण अवस्थामा पुगेको छ ।
नेपाल सरकारले सूचीकृत गरेका एक सय पर्यटकीय गन्तव्यभित्र पर्ने यो ऐतिहासिक सम्पदा संरक्षणको अभावमा नष्ट हुने जोखिम बढ्दै गएको छ ।
तत्कालीन जाजरकोटी राजा इन्द्रनारायण शाहको शासनकालमा खलङ्गा क्षेत्रको अग्लो स्थानमा निर्माण गरिएको सेतो दरबार जाजरकोट मात्र नभई सिङ्गो कर्णाली प्रदेशकै ऐतिहासिक पहिचान हो ।
यसअघि सोही क्षेत्रमा राजा हरि शाहले विसं १८२५ मा निर्माण गराएको रातो दरबार अहिले जिल्ला समन्वय समितिको कार्यालयका रूपमा प्रयोग हुँदै आएको छ ।
स्थानीय इतिहासविद् तथा बासिन्दाहरूका अनुसार सेतो दरबारको मौलिकता जोगाउँदै भूकम्पप्रतिरोधी प्रविधिबाट पुनःनिर्माण गर्नु आजको आवश्यकता हो ।
‘यो दरबार जाजरकोटको मात्र होइन, सिङ्गो कर्णालीको ऐतिहासिक तथा पर्यटकीय सम्पदा हो,’ उनीहरू भन्छन्, ‘सरकारी कार्यालय अन्यत्र सारेर यसलाई संग्रहालय वा पर्यटकीय संरचनाका रूपमा विकास गर्नुपर्छ ।’
यसपटकको भूकम्पले दरबार वरपर रहेका उस्तै शैलीका ऐतिहासिक घरहरू पनि पूर्ण रूपमा ध्वस्त बनाएको छ । ती घरहरू तत्कालीन जाजरकोटी राजाका भाइ–छोराको आवासका लागि निर्माण गरिएका थिए ।
यस्ता मौलिक संरचना एकपछि अर्को गर्दै नष्ट हुन थालेपछि जाजरकोटको ऐतिहासिक पहिचान नै संकटमा पर्ने चिन्ता स्थानीयवासीले व्यक्त गरेका छन् ।
अहिले पर्यटकीय गन्तव्यका रूपमा चिनिँदै गएको जाजरकोट दरबार क्षेत्र संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । समयमै आवश्यक पहल नहुँदा इतिहासकै एक महत्वपूर्ण धरोहर सदाका लागि गुम्ने जोखिम बढ्दै गएको छ ।
इतिहास बचाउने कि हेरेरै गुमाउने,भन्नेमा अब पनि सम्बन्धित निकायले चासो नदिने हो भने जाजरकोटको गौरव बोकेको सेतो दरबार केवल स्मृतिमा सीमित हुन सक्छ । त्यसैले स्थानीय, प्रदेश र संघीय सरकारको तत्काल ध्यानाकर्षण गर्दै यसको संरक्षण र पुनःनिर्माणमा पहल आवश्यक देखिन्छ ।






































