भक्तपुर। आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि भक्तपुर क्षेत्र नं १ र क्षेत्र नं २ मा पुरानै उम्मेदवार अनुहार दोहोरिएका छन् । क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले चौथोे पटक प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुभएको छ भने क्षेत्र नं २ बाट नेकपा (एमाले) का महेश बस्नेतले यसवर्ष तेस्रो पटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।
क्षेत्र नं १ मा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २५ जनाले उम्मेदवारी दिँदा नेपाल मजदुर किसान पार्टीबाट सुवाल पुरानै उम्मेदवार हुन् भने क्षेत्र नं २ मा ३२ जनाले उम्मेदवारी दर्ता गराउँदा एमालेका बस्नेत पुरानै उम्मेदवारका रुपमा चुनावी मैदानमा उत्रिनुभएको छ । यहाँ अधिकांश उम्मेदवार नयाँ हुनुहुन्छ ।
भक्तपुर क्षेत्र नं १ मा २०४८, २०५१, २०५६, २०६४ र २०७० सालमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे विजयी हुनुभएको थियो । विसं २०७४ मा उहाँले पार्टीमा पुस्तान्तरण गर्ने भन्दै उम्मेदवारी नदिने निर्णय गर्नुभएपछि नेमकिपाबाट सुवाल २०७०, २०७४ र २०७९ सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।
नेकपा (एमाले)बाट उम्मेदवार हुनुभएका सोम मिश्र यसअघि चाँगुनारायण नगरपालिकाको प्रमुख र नेपाली काँग्रेसबाट उम्मेदवार हुनुभएका किरण न्यौपाने नेपाल बार एशोसिएशन भक्तपुरको अध्यक्ष भइसक्नुभएको छ ।
भक्तपुर क्षेत्र नं २ मा एमालेका महेश बस्नेतले यसवर्ष तेस्रो पटक उम्मेदवारी दिनुभएको हो । यसअघि २०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट उहाँ उम्मेदवार हुनुभएको थियो । बस्नेतले नेपाली कांग्रेसका उम्मेदवार दमननाथ ढुङ्गानालाई पराजित गर्नुभएको थियो । विसं २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका दुर्लभ थापा विजयी हुनुभयो । उहाँसँग एमालेका बस्नेत पराजित हुनुभएको थियो । यसपटक यहाँ नेपाली कांग्रेसबाट पत्रकार कविर राणाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यस्तै यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजिव खत्री तथा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट रामप्रसाद सापकोटा (दिपशिखा)ले उम्मेदवरी दर्ता गराउनुभएको छ ।






































