दमक— झापा–५ को चुनावी माहोल तातेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दमक केन्द्रित भेटघाटलाई तीव्र बनाउँदै तल्लो तहसम्म संगठन सक्रिय बनाउने प्रयास थालेका छन् । मंगलबार मनोनयन दर्ता गरेपछि ओली बुधबार बिहानैदेखि विभिन्न वडाका नेता–कार्यकर्तासँग छलफलमा जुटेका हुन् ।

दमकमा रहेका ओलीले विशेषगरी युवासँग अन्तरक्रिया गर्दै आफ्नो निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका काम, त्यसको प्रगति र आगामी योजनाबारे सुझाव लिइरहेका छन् । स्थानीय स्तरका कार्यकर्तालाई प्रत्यक्ष भेटेर चुनावी रणनीति मजबुत बनाउनेतर्फ ओली केन्द्रित देखिएका छन् ।

यसैबीच, ओलीविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका बालेन शाहले पनि दमकमा भेटघाटलाई आक्रामक बनाएका छन् । विभिन्न समूह र व्यक्तिसँगको संवाद तीव्र पार्दै बालेनले आफ्नो पक्षमा माहोल सिर्जना गर्न थालेका छन् । दमकमा बालेनलाई समर्थन गर्नेहरूको संख्या बढ्दै गएको बताइएको छ ।

यसअघि राप्रपा दमकका सभापतिले पदबाट राजीनामा दिएर बालेनको समर्थन गरेका थिए । बुधबार बिहान एमालेनिकट युवा संघ दमकका अध्यक्षले पनि पार्टी परित्याग गर्दै बालेनको पक्षमा खुलेका छन् ।

मनोनयन दर्तापछि दुबै उम्मेदवारले आगामी दिनमा अझ आक्रामक ढंगले चुनावी प्रचारमा उत्रिने संकेत गरेका छन् ।