काठमाडौंं— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध लगाइएका ‘सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’ सम्बन्धी अभियोग हटाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले सुनुवाइका लागि पेसी तोकेको छ ।
न्यायाधीशद्वय मनोजकुमार शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासमा रिटको सुनुवाइ हुनेछ । यसअघि न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले महान्यायाधिवक्ता कार्यालयसँग लिखित जवाफ मागेको थियो ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितले दायर गरेको रिटमा अभियोग हटाउने निर्णय प्रथम दृष्टिमै गैरकानुनी र स्वेच्छाचारी भएको दाबी गर्दै बदर गर्न माग गरिएको छ । रिटमा सम्पत्ति शुद्धीकरणजस्तो गम्भीर अपराधमा अभियोग संशोधन गर्नु कानुनको दुरुपयोग भएको र यसले बचतकर्ताको न्यायमा असर पर्ने जिकिर गरिएको छ ।






































