काभ्रेपलाञ्चोक। सोनाम ल्होसारका अवसरमा काभ्रेको नमोबुद्ध नगरमा राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना गरिने भएको छ । नमोबुद्ध–मानेगाउँ युवा क्लबद्वारा ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।

तेस्रो संस्करणअन्तर्गत यही माघ १५ गतेदेखि २० गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा जित हासिल गर्ने टिमले रु एक लाख पाँच हजार पुरस्कार राशि पाउनेछन् । नमोबुद्ध नपा–१ स्थित मानेगाउँमा आयोजित प्रतियोगितामा देशभरबाट दुई दर्जन बढीले सहभागिता जनाउने क्लबका सचिव गणेश लामाले जानकारी दिनुभयो । उहाँका अनुसार दोस्रो हुने टिमलाई रु ५५ हजार पुरस्कार दिइनेछ ।

प्रतियोगितामा उत्कृष्ट प्लेयर, वेष्ट किपर, कोच, हाइस्कोरर र प्रत्येक खेलको म्यान अफ दी म्याचलाई जर्सी प्रदान गरिने जनाइएको छ । यस्तै मोफसलमा प्रतिष्ठित मानिएको उक्त प्रतियोगितामा नेपालका उत्कृष्ट खेलाडीसहित राष्टिय क्लब, विभागीय टोलीको पनि सहभागिता रहने आयोजकले जनाएका छन् ।