रामेछाप— रामेछापको खाँडादेवी गाउँपालिका–७ गाल्पामा निर्माण सुरु गरिएको राष्ट्रिय स्तरको तेक्वान्दो रंगशालाको निर्माणकार्य अलपत्र परेको छ ।
राष्ट्रिय तेक्वान्दो आइटिएफ एकेडेमी सहित निर्माण गर्न लागिएको रंगशालाको निर्माणकार्य अलपत्र परेको हो । खाँडादेखि गाउँपालिकाको गाल्पा बजार नजिकै १ करोड ११ लाख रुपैँयाको लागतमा एकेडेमी भवन निर्माण भएको छ । केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारको संयुक्त लगानीमा सो भवन निर्माण भएको हो ।
भवनमा चेन्जिङ रुम, बाथरुम, अफिस रुम सहित इनडोर गेमको हल रहेको छ । रामेछापको खाँडादेवी, दोरम्बा शैलुङ र सुनापाती गाउँपालिले प्रदेश सरकार र केन्द्र सरकारलाई गाल्पामा राष्ट्रिय एकेडेमी निर्माणका लागि संयुक्त प्रस्ताव पेस गरेका थिए । सोही प्रस्ताव अनुसार एकेडेमी भवन निर्माण भएको हो ।
भवनसँगै रंगशाला निर्माणको लागि खारिएको जमिन त्यतिकै छाडिएको छ । यो निर्माणकार्य वर्षौँदेखि अलपत्र अवस्थामा रहेको छ । एकेडेमी भवनको संरक्षण गर्ने समेत कुनै व्यवस्था छैन ।
एकातिर करोड रुपैँयाभन्दा बढीको संरचना अलपत्र परेको छ भने अर्को तर्फ रंगलशाला निर्माणको काम पनि त्यतिकै रोकिएको छ । यसबाट राज्यको ठुलो लगानी खेर गएको छ ।






































