काठमाण्डौ । केपी ओली र रमेश लेखकको मुद्दाका विषयमा प्रहरीले सरकारी वकिलसँग लिखित राय माग गरेको छ ।
जेनजी आन्दोलनको जाँचबुझ प्रतिवेदनको सिफारिसबमोजिम ज्यान मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका एमाले अध्यक्षसमेत रहेका ओली र कांग्रेस नेता लेखकलाई अब म्याद थप नगर्न सर्वोच्च अदालतले सोमबार आदेश दिएसँगै प्रहरीले सरकारी वकिलसँग लिखित राय माग गरेको हो ।
स्रोतका अनुसार सो पत्र सरकारी वकिलको कार्यालयमा दर्ता भइसकेको छ। कानून अनुसार प्रहरीले ज्यान मुद्दामा पक्राउ परेको व्यक्तिलाई अनुसन्धान गर्न २५ दिनको म्याद पाएको हुन्छ । उक्त म्यादभित्र उसले सरकारी वकिलमार्फत जिल्ला अदालतमा मुद्दा बुझाउनुपर्ने व्यवस्था छ ।
तर, सर्वोच्च अदालतले अहिले थप भएको म्यादभित्रै मुद्दा पेस गर्न नसकिने भए मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५ बमोजिम सरकारी वकिलको रायमा अनुसन्धान अधिकृतलाई हाजिर जमानीमा छाड्न आदेश दिएको थियो । ओली–लेखकमाथि अनुसन्धान गर्न जिल्ला अदालतले चैत २२ मा अन्तिम पटक पाँच दिनको म्याद थप गरेको थियो । सो म्याद बिहीबार सकिदै छ ।
अब सरकारी वकिलको कार्यालयले प्रहरीलाई दिने रायका आधारमा ओली–लेखक हाजिरी जमानीमा छुट्ने कि मुद्दा पेस गर्नमध्ये एउटा निर्णयमा पुग्नेछ ।






































