काठमाडौं— काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त डा.भाइकाजी तिवारी र शाखा अधिकृत (करार) यामकुमार कार्कीविरुद्ध नक्कली सरकारी कागजात तयार गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको आरोपपत्रअनुसार कार्कीले आफ्नो विरुद्ध चलिरहेको गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अनुसन्धान प्रभावित पार्ने उद्देश्यले गलत लिखत तयार गरेको पाइएको छ। उक्त लिखतमा कार्यालयको काममा असर नपर्ने गरी बिहान–बेलुका पार्टटाइम काम तथा अध्ययनरअध्यापन गर्न अनुमति दिइएको उल्लेख गरिएको थियो।
तर अनुसन्धानका क्रममा सो पत्रमा आधिकारिक चलानी नम्बर नरहेको, कार्यालयमा दर्ता नभएको र अभिलेखमा समेत नपाइएको पुष्टि भएको आयोगले जनाएको छ। साथै, प्रयोग गरिएको शब्दावलीसमेत सम्बन्धित समयसँग नमिल्ने देखिएकाले लिखत नक्कली भएको ठहर गरिएको छ।
उक्त कागजात तयार पार्न तत्कालीन आयुक्त तिवारी र कार्कीबीच मिलेमतो रहेको आयोगको निष्कर्ष छ। उनीहरूले सरकारी संस्थाको लेटरप्याड र छापको दुरुपयोग गरी झुटा लिखत तयार गरी प्रयोगमा ल्याएको आरोप लगाइएको छ।
आयोगले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ अनुसार कैद तथा जरिवाना मागदाबी गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको जनाएको छ।






































