देवेन्द्र के ढुङगाना  \  नेपालको हिमालय केवल हिमालको शृङ्खला होइन, जीवन, सभ्यता, संस्कृति र समृद्धिको आधार  पनि हो। यही हिमालयबाट जन्मिएका नदीहरूले नेपाललाई कृषि, ऊर्जा, पर्यटन र आर्थिक सम्भावनाको आधार दिएका छन्। तर पछिल्ला दिनमा रसुवा, नुवाकोट, धादिङ हुँदै भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको अभूतपूर्व बाढीले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हिमालयले हामीलाई जीवन दिइरहेको छ कि अब हामीलाई आफ्नो जोखिमबारे चेतावनी दिइरहेको छ?IMG-20260828-WA0000नेपाल–चीन सीमा नजिक रसुवागढीबाट करिब १८–२० किलोमिटर माथितिर ल्हेन्दे खोलाको बहाव हिमचट्टानको पहिरोका कारण अवरुद्ध भएपछि बनेको प्राकृतिक बाँध फुट्दा भोटेकोशी र त्यसपछि त्रिशूली नदीमा आएको तीव्र बहावले ठूलो विनाश निम्त्यायो। घटना यति आकस्मिक थियो कि सामान्य वर्षाको अवस्थाबीच केही मिनेटमै नदीको स्वरूप फेरियो। बस्ती, पुल, सडक, जलविद्युत् आयोजना, व्यापारिक पूर्वाधार र मानिसका वर्षौँका मेहनतले बनाएका संरचना एकाएक बाढीको चपेटामा परे।

यो घटना  रसुवाको विपत्ति होइन। नुवाकोट, धादिङ, गोरखा र चितवनसम्म यसको प्रभाव देखियो। फुर्के (मलेखु) जलमापन केन्द्रमा नदीको सतह सतर्कता र खतरा तह पार गर्दै १०.४८ मिटरसम्म पुगेपछि मापन केन्द्र नै बग्यो। मुग्लिननजिक कालीखोलामा पनि जलसतह खतरा तहभन्दा माथि पुग्यो। देवघाटमा केही घण्टाको अवधिमा आधार बहावभन्दा अतिरिक्त करिब दुई करोड घनमिटर बाढीजन्य पानी जम्मा भएको प्रारम्भिक अनुमानले घटनाको भयावहता स्पष्ट पार्छ।

सबैभन्दा पीडादायी पक्ष मानवीय क्षति हो। परिवारहरू विस्थापित भएका छन्, कतिपय मानिस सम्पर्कविहीन छन्, श्रमिकहरू जलविद्युत् आयोजनाका सुरुङ तथा जोखिमयुक्त क्षेत्रमा फसेका छन्। घरबार गुमाएका परिवारका लागि अहिले विकास, व्यापार र राजनीतिक बहसभन्दा पहिले खाना, पानी, औषधि, आश्रय र आफन्तको खोजी प्राथमिकता बनेको छ।

तर यस विपत्तिले अर्को गम्भीर प्रश्न पनि उठाएको छ—समयमै सूचना पुगेको थियो त?

बिहान ८:५० बजे स्याफ्रुबेसीको जलमापन केन्द्रले विवरण दिन छाडेको देखिन्छ। त्यसपछि ९:१५ बजे रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदीतटीय तथा जोखिमयुक्त क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन सूचना जारी गरियो। नेपाल टेलिकम र एनसेलमार्फत लाखौँ एसएमएस पठाइए पनि कतिपय बस्तीका लागि उपलब्ध समय अत्यन्त छोटो थियो। ९:२० बजे बेत्रावती मापन केन्द्रबाट पनि विवरण आउन बन्द भयो। केही मिनेटको अन्तरालमै नदीको अवस्था यति तीव्र रूपमा बदलियो कि परम्परागत पूर्वानुमान र सूचना प्रणालीको सीमितता प्रस्ट भयो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्रणालीका विज्ञहरूले औँल्याएझैँ, यस घटनाले ‘मिनेट र सेकेन्ड’को महत्त्व प्रमाणित गरेको छ। अझ चिन्ताजनक विषय नेपाल र चीनबीच यस्ता आकस्मिक प्राकृतिक जोखिमसम्बन्धी वास्तविक–समय सूचना आदानप्रदानको प्रभावकारी अन्तरदेशीय संयन्त्र अझै पर्याप्त विकसित नभएको तथ्य हो। सीमा पारि उत्पन्न हुने हिमपहिरो, हिमताल विस्फोट, पहिरो वा नदीको आकस्मिक बहावबारे अग्रिम जानकारी पाउन सकिएमा तलतिरका हजारौँ मानिसलाई सुरक्षित स्थानमा सार्न केही महत्त्वपूर्ण मिनेट वा घण्टा प्राप्त हुन सक्छ।

त्यसैले अब विपद् व्यवस्थापनलाई राहत र उद्धारमा मात्र सीमित राखेर हुँदैन। जोखिम पहिचान, निगरानी, पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई राष्ट्रिय सुरक्षाकै एउटा महत्त्वपूर्ण अंगका रूपमा विकास गर्नुपर्ने समय आएको छ। रिमोट सेन्सिङ, भूउपग्रह, स्वचालित जलमापन केन्द्र, मौसम र नदी निगरानी प्रणाली तथा उच्च जोखिमका क्षेत्रमा ग्राउन्ड स्टेसन स्थापना गर्नुपर्छ। बस्तीमा साइरन, मोबाइल अलर्ट, रेडियो, टेलिभिजन र सामाजिक सञ्जालमार्फत एकै समयमा एउटै आधिकारिक सूचना प्रवाह हुने बहु–माध्यमीय चेतावनी प्रणाली आवश्यक छ।

त्यसैगरी नेपाल–चीनबीच सीमा क्षेत्रमा प्राकृतिक विपद्सम्बन्धी रियल–टाइम सूचना आदानप्रदान संयन्त्र निर्माण गर्नु अब कूटनीतिक प्राथमिकतासमेत बन्नुपर्छ। हिमालय साझा भौगोलिक प्रणाली भएकाले विपद्को जोखिम पनि साझा हो। नदीले सीमा चिन्दैन; त्यसैले विपद् सूचना प्रणालीले पनि सीमा चिन्नु हुँदैन।

रसुवाको बाढीले जलविद्युत्, सडक, पुल र व्यापारिक पूर्वाधार निर्माणमा अर्को पाठ पनि दिएको छ। हिमाली क्षेत्रमा विकासका आयोजना आर्थिक प्रतिफल हेरेर होइन, जलवायु परिवर्तन, भौगोलिक अस्थिरता, हिमपहिरो र आकस्मिक बाढीको जोखिमलाई केन्द्रमा राखेर निर्माण गर्नुपर्छ। ‘विकास’ र ‘सुरक्षा’लाई अलग–अलग विषयका रूपमा हेर्ने पुरानो सोच अब बदलिनुपर्छ।

आज तत्कालको आवश्यकता उद्धार, राहत र पुनर्स्थापना हो। सरकार, सुरक्षा निकाय, स्थानीय तह, निजी क्षेत्र, सामाजिक संस्था, गैरआवासीय नेपाली समुदाय र अन्तर्राष्ट्रिय साझेदार सबैले हातेमालो गर्नुपर्छ। तर राहतसँगै दीर्घकालीन पुनर्निर्माण र जोखिम न्यूनीकरणको योजना पनि आजैदेखि सुरु हुनुपर्छ।

रसुवाको बाढीले नेपाललाई मात्र होइन, विश्व समुदायलाई पनि एउटा गम्भीर सन्देश दिएको छ—जलवायु परिवर्तन र हिमालयको अस्थिरता अब भविष्यको सम्भावित संकट होइन, वर्तमानको कठोर वास्तविकता हो।

मलबेमा पुरिएका घरहरू, बगेका पुलहरू र नदी किनारमा आफन्त खोजिरहेका आँखाहरूले हामीलाई एउटै कुरा सम्झाइरहेका छन्—प्रकृतिलाई नियन्त्रण गर्न सकिँदैन, तर विपद्को क्षति कम गर्न सकिन्छ। त्यसका लागि विज्ञान, प्रविधि, पूर्वसूचना, अन्तरदेशीय सहकार्य र मानवीय संवेदनशीलतालाई एउटै ठाउँमा जोड्नुपर्छ।

रसुवा आज पीडामा छ। तर यो पीडा रसुवाको मात्र होइन, सम्पूर्ण नेपालको हो। यस विपत्तिलाई  एउटा दुःखद घटना मानेर बिर्सने कि यसलाई भविष्य सुरक्षित बनाउने ऐतिहासिक चेतावनीका रूपमा ग्रहण गर्ने—निर्णय अब हाम्रो हातमा छ।

रसुवालाई हाम्रो सहानुभूतिभन्दा बढी हाम्रो सहभागिता चाहिएको छ। र भविष्यको नेपाललाई हाम्रो भावनाभन्दा बढी हाम्रो तयारी आवश्यक छ ।