गोरखा। नेपाली कांग्रेसका सभापति गगन थापाले सरकार सञ्चालन गर्दा कुनै दलको आन्तरिक विधानभन्दा देशको संविधान र कानुनलाई आधार मान्नुपर्ने बताएका छन्।  मंगलबार गोरखामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै थापाले वर्तमान सरकारलाई संविधानको मर्मअनुसार काम गर्न आग्रह गरे। उनले सरकारका गतिविधिमाथि निगरानी राख्ने र आवश्यक पर्दा समर्थन तथा आलोचना गर्ने जिम्मेवारी प्रमुख प्रतिपक्षको भएको बताए।

थापाले विगतका सरकार र प्रतिपक्ष दुवैले अपेक्षाअनुसार भूमिका निर्वाह गर्न नसकेको टिप्पणी गर्दै राजनीतिक दलहरूमा सत्ताकेन्द्रित सोच हाबी भएको बताए। सार्वजनिक पदमा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने विषयमा कांग्रेस सकारात्मक रहेको उल्लेख गर्दै उनले पारदर्शिता र जवाफदेहिताको पक्षमा आफूहरू दृढ रहेको बताए। सरकारले सुरु गरेको सम्पत्ति छानबिन प्रक्रियामा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै उनले प्रक्रिया निष्पक्ष र विश्वसनीय हुनुपर्नेमा जोड दिए।

प्रधानमन्त्री तथा मन्त्रीहरूले आफ्नो सम्पत्तिको स्रोत खुला रूपमा सार्वजनिक गर्न सक्नुपर्ने भन्दै थापाले सुशासनको आधार नै पारदर्शिता भएको बताए। उनले सरकारलाई चुनावअघि गरेका प्रतिबद्धता कार्यान्वयन गरेर देखाउन पनि आग्रह गरे।