विराटनगर— कोशी प्रदेशमा मनसुनजन्य विपद्को सम्भावित जोखिम न्यूनीकरण तथा पूर्वतयारीका विषयमा प्रदेशस्तरीय सुरक्षा समन्वय समितिको बैठक सम्पन्न भएको छ।

मोरङको विराटनगरस्थित बिग होटलमा आयोजित बैठक कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको अध्यक्षता तथा मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

बैठकमा मनसुनका कारण उत्पन्न हुन सक्ने बाढी, पहिरो तथा अन्य विपद्का घटनाको पूर्वतयारी, उद्धार तथा राहत व्यवस्थापनका विषयमा विस्तृत छलफल गरिएको थियो। साथै, मोरङको विराटनगर महानगरपालिका–१६ र झापाको मेचीनगर नगरपालिका–६ मा रहेका होल्डिङ सेन्टरलाई लागूऔषध दुव्र्यसनमा परेका युवा–युवतीको उपचार, सुधार तथा पुनर्स्थापना केन्द्रका रूपमा सञ्चालन गर्न कार्यदल गठन गरी संघीय सरकारसमक्ष प्रस्ताव पठाउने निर्णय गरिएको छ।

त्यसैगरी, गत वर्ष वर्षाका कारण इलाममा क्षति पुगेका घरहरूको पुनर्निर्माणका लागि आवश्यक लागत स्वीकृत गर्न सिफारिस गर्ने निर्णयसमेत बैठकले गरेको छ।

विगतका मनसुनजन्य विपद्का घटनाबाट भएको मानवीय तथा भौतिक क्षतिको अध्ययन गरी सम्भावित जोखिम र चुनौतीको विश्लेषण गर्ने, बाढी तथा पहिरोको उच्च जोखिम भएका क्षेत्रको पहिचान गर्ने, सुरक्षित स्थानको व्यवस्था गर्ने, आवश्यक उद्धार सामग्री तयारी अवस्थामा राख्ने तथा विपद् उद्धारसम्बन्धी तालिमप्राप्त प्रहरी जनशक्ति परिचालन गर्ने विषयमा पनि छलफल भएको थियो।

बैठकले सम्बन्धित सरकारी निकाय तथा सरोकारवाला संघ–संस्थासँग समन्वय र सहकार्य गर्दै विपद् व्यवस्थापनका सम्पूर्ण तयारीलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

बैठकमा कोशी प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्रकुमार पौडेल, प्रदेशस्तरीय सुरक्षा समितिका पदाधिकारी, झापा, मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी प्रमुखहरूको उपस्थिति रहेको थियो।