काठमाडौं । गृहमन्त्रीमा पुनः नियुक्ति भइसके पनि उनीमाथि भएको छानबिनको निष्कर्ष अझै गोप्य छ। यही विषयलाई लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद्मै सरकारसँग जवाफ मागेको छ। कांग्रेसले प्रश्न गरेको छ– यदि प्रतिवेदन तयार भइसकेको हो भने किन सार्वजनिक गरिँदैन ? 

गृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित छानबिन प्रतिवेदन सार्वजनिक गर्न नेपाली कांग्रेसले सरकारमाथि दबाब बढाएको छ। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद भरत खड्काले सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदन किन लुकाइएको भन्दै प्रश्न उठाएका हुन्। उनका अनुसार प्रतिवेदन बुझाइएको एक साता बितिसक्दा पनि सरकारले त्यसबारे कुनै जानकारी सार्वजनिक गरेको छैन।

सुधन गुरुङको सम्पत्ति विवरण, त्यसको स्रोत र सेयर कारोबारबारे विभिन्न प्रश्न उठेपछि सरकारले विशेष समिति गठन गरेर अनुसन्धान गराएको थियो। समितिले आफ्नो काम सकेर प्रतिवेदन सरकारलाई बुझाइसकेको बताइए पनि त्यसको निष्कर्ष भने अझै सार्वजनिक गरिएको छैन।

कांग्रेसले प्रतिवेदन नखुलाइकनै गुरुङलाई पुनः गृहमन्त्रीको जिम्मेवारी दिइनु थप आशंकाको विषय बनेको जनाएको छ। संसद्मा उठेको प्रश्नको जवाफ दिँदै सरकारले प्रतिवेदन सार्वजनिक गर्ने वा नगर्नेबारे हालसम्म कुनै स्पष्ट धारणा राखेको छैन।

यता, प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ हुनुका कारणबारे राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजीसमेत सुरु भएका छन्। प्रतिपक्षी दलहरूले पारदर्शिता कायम गर्न प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने माग दोहोर्‍याएका छन्।

छानबिन सकियो, प्रतिवेदन बुझाइयो, मन्त्री फेरि जिम्मेवारीमा फर्किए। तर प्रतिवेदनको निष्कर्ष अझै किन गोप्य छ? आम जनताको प्रश्न रहेको छ ।