काठमाडौं— नेपाली कम्युनिस्ट पार्टी (नेकपा)भित्र नेतृत्व, कार्यविभाजन र वैचारिक दिशालाई लिएर असन्तुष्टि बढ्दै गएको छ ।

वरिष्ठ नेता झलनाथ खनालले वर्तमान नेतृत्वबाट वामपन्थी आन्दोलनको पुनर्गठन सम्भव नभएको भन्दै संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले मार्गप्रशस्त गर्नुपर्ने बताएका छन् ।

खनालले पार्टीभित्र वैचारिक अस्पष्टता, संगठनात्मक संकट र कार्यकर्तामा बढ्दो निराशाका कारण पार्टी विघटनको दिशातर्फ उन्मुख भएको चेतावनी दिएका छन् ।

उनले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्दै तत्काल केन्द्रीय समिति बैठक बोलाएर गम्भीर समीक्षा गर्नुपर्ने माग गरेका छन् ।

पार्टी एकतापछि जिम्मेवारी बाँडफाँट, संविधान संशोधन कार्यदल गठन तथा पूर्वसहमति कार्यान्वयन नभएको विषयमा पनि खनाल असन्तुष्ट देखिएका छन् ।

उनले यस सम्बन्धमा नेतृत्वलाई २४ पृष्ठ लामो सुझावपत्र समेत बुझाएका छन् ।

यता पार्टी प्रवक्ता प्रकाश ज्वालाले पार्टीभित्र उठेका वैचारिक र संगठनात्मक प्रश्नहरूको समाधान आगामी एकता महाधिवेशनबाट हुने बताएका छन् ।

उनका अनुसार असारको पहिलो साताभित्र केन्द्रीय समितिको भर्चुअल बैठक बोलाएर सदस्यहरूको धारणा संकलन गरिनेछ ।

पार्टीभित्र झलनाथ खनाल, वामदेव गौतम र भीम रावललगायत नेताहरूको असन्तुष्टि सार्वजनिक भइरहेका बेला नेकपाको संगठन विस्तार र समायोजन प्रक्रिया भने अझै पूर्ण हुन सकेको छैन ।

यसले नेतृत्व क्षमतामाथि पार्टीभित्र र बाहिर दुवैतर्फ प्रश्न उठ्न थालेका छन् ।