काठमाडौं— नेपाल टेलिकमले आफ्नो एसएमएस सेवाको दुरुपयोग गर्दै कनेक्ट आइपिएस् तथा विभिन्न बैंक र डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक सन्देश पठाउने गतिविधि बढिरहेको भन्दै ग्राहकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
कम्पनीका अनुसार ‘खाता निलम्बन भएको’, ‘सेवा अस्थायी रूपमा बन्द भएको’ वा ‘प्राविधिक समस्या देखिएको’ जस्ता भ्रामक सूचना पठाएर प्रयोगकर्तालाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गराउने प्रयास भइरहेको पाइएको छ।
टेलिकमले यस्ता एसएमएस, फोन कल वा अपरिचित लिंकप्रति सचेत रहन तथा कुनै पनि लिंक प्रयोग गर्नुअघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एपमार्फत जानकारी पुष्टि गर्न आग्रह गरेको छ।
साथै, ओटीपी, पासवर्ड, पिन, सिभिभी नम्बर लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्न र बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्रै प्रयोग गर्न कम्पनीले सुझाव दिएको छ।
यदि कुनै शंकास्पद एसएमएस, फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित संस्था वा सेवा प्रदायकलाई तत्काल जानकारी गराउन पनि टेलिकमले अनुरोध गरेको छ। ग्राहकहरूको डिजिटल सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै यस्ता साइबर ठगीका प्रयासबाट सचेत रहन सबैलाई अपिल गरिएको छ।






































