काठमाडौं— कैलालीमा अतिक्रमण हटाउने क्रममा एक महिलाको टेम्पो भिरबाट खसालिएको घटनाको छानबिन गर्न सुदूरपश्चिम प्रदेश सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ।
मन्त्रीस्तरीय निर्णयअनुसार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशक हेमराज विष्टको संयोजकत्वमा समिति गठन गरेको हो।
समितिमा कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, वरिष्ठ डिभिजन वन अधिकृत जनक पाध्या, यातायात व्यवस्था कार्यालय कैलालीका मेकानिकल इन्जिनियर धोजराज जोशी तथा कानुन अधिकृत विजयराज ओझा सदस्य रहेका छन्।
समितिलाई घटनाको सत्यतथ्य अनुसन्धान गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।
उल्लेखनीय छ, गत जेठ २९ गते डिभिजन वन कार्यालय कैलालीका कर्मचारीले अतिक्रमण हटाउने क्रममा गोदावरी नगरपालिका–४ मा एक महिलाको टेम्पो भिरबाट खसालेको भिडियो सार्वजनिक भएपछि घटनाले व्यापक चर्चा पाएको थियो।






































