काठमाडौं— नेकपा एमालेकी नेतृ पदमा अर्यालले आफ्नो पार्टीसँग जोडिएका विषयमा सरकारलाई फाइल खोल्न चुनौती दिएकी छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अर्थमन्त्रीले बजेटमाथिको छलफलका क्रममा ूफाइल खोल्छुू भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै त्यसलाई धम्कीको शैली भएको टिप्पणी गरिन्। उनले यदि सरकारले वास्तवमै फाइल खोल्ने हो भने सबैभन्दा पहिले गिरिबन्धु चिया प्रकरणको फाइल सार्वजनिक गर्नुपर्ने बताइन्।

अर्यालले सत्यतथ्य बाहिर ल्याउन सरकारसँग आग्रह गर्दै कुनै पनि फाइलको नाममा राजनीतिक दबाब वा धम्की दिन नहुने धारणा राखिन्। अत्यधिक बहुमत प्राप्त सरकारले सबै विवादित फाइल निष्पक्ष रूपमा खोलेर वास्तविकता जनतासामु ल्याउनुपर्ने उनको भनाइ थियो।

त्यसैगरी, प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति आफ्नो पार्टीको असहमति यथावत रहेको उनले स्पष्ट पारिन्। बजेट पारित गर्ने संसदीय प्रक्रियालाई सहज बनाउन मात्र विरोधको स्वरूप परिवर्तन गरिएको उनले बताइन्।