काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रदेश अधिवेशनले पार्टीभित्र नयाँ राजनीतिक सन्देश दिएको छ। प्रतिनिधिसभाका तीन जना बहालवाला सांसद प्रदेश सभापतिको चुनावमा पराजित भएपछि पार्टीभित्र नेतृत्वको नयाँ समीकरण देखिएको छ।

बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा सभापति बन्न मैदानमा उत्रिएका सांसदहरू कार्यकर्ताको मत जित्न असफल भएका छन्। नुवाकोट–२ बाट निर्वाचित सांसद डा.अच्युत्तम लामिछाने बागमती प्रदेश सभापतिमा पराजित भए। अत्यन्त प्रतिस्पर्धात्मक बनेको चुनावमा उनी केवल २ मतले पछि परे। पूर्व प्रदेश प्रवक्ता उत्सव अर्याल ४१६ मतसहित विजयी हुँदा लामिछानेले ४१४ मत पाए।

यस्तै, गण्डकी प्रदेशमा सांसद राजन गौतमले पनि हार व्यहोरे। प्रदेशका संस्थापक सभापति समेत रहेका गौतमलाई पार्टीकै महामन्त्री नवीन त्रिपाठीले पराजित गरे। त्रिपाठीले २३४ मत प्राप्त गर्दा गौतम १८२ मतमा सीमित भए। सुदूरपश्चिममा पनि सांसद जनकसिंह धामीलाई कार्यकर्ताले नेतृत्वको जिम्मा दिएनन्। प्रकाश विष्टले धामीलाई फराकिलो मतान्तरले पराजित गर्दै प्रदेश नेतृत्व आफ्नो पक्षमा पारे। विष्टले ३५८ मत प्राप्त गर्दा धामीले १५४ मत मात्रै पाए।

यस परिणामलाई रास्वपाभित्रको आन्तरिक लोकतन्त्रको परीक्षणका रूपमा हेरिएको छ। बहालवाला सांसद र संस्थापक नेताहरूलाई समेत कार्यकर्ताले सहज रूपमा स्वीकार नगरेको सन्देश परिणामले दिएको विश्लेषण हुन थालेको छ। विशेषगरी बागमती र गण्डकीमा संस्थापक सभापतिहरूको पराजयले पार्टीभित्र पुरानो नेतृत्वभन्दा नयाँ अनुहारप्रति आकर्षण बढेको संकेत गरेको छ।

रास्वपाको प्रदेश अधिवेशनले अर्को सन्देश पनि दिएको छ— पार्टीमा पद र सांसदको हैसियतभन्दा कार्यकर्ताको मत निर्णायक बन्न सक्छ। अब नयाँ नेतृत्वले प्रदेश संगठनलाई कसरी अघि बढाउँछ र आगामी निर्वाचनसम्म पार्टीलाई कति बलियो बनाउँछ भन्ने विषयमा सबैको ध्यान केन्द्रित भएको छ।