काठमाडौं । पछिल्लो निर्वाचनमा अपेक्षाभन्दा कमजोर नतिजा आएपछि नेकपा ९एमाले० ले देशव्यापी चुनावी समीक्षा र पार्टी पुनर्गठन अभियान सुरु गरेको छ। कोशी प्रदेशबाट सुरु भएको अभियानलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले गरेका काम जनतासम्म पुर्‍याउन नसक्दा ठूलो राजनीतिक क्षति बेहोर्नुपरेको स्वीकार गरेका छन्।

“काम गर्‍यौं, तर जनतालाई बुझाउन सकेनौं। विरोधीको प्रचारको प्रतिवाद गर्न पनि चुक्यौं,” ओलीको भनाइ थियो। एमालेले संगठनात्मक कमजोरी, कार्यकर्ता परिचालन, नेतृत्व शैली र पार्टी संरचनाबारे सुझाव संकलन गर्दै आगामी निर्वाचनलाई लक्षित गरेर संगठन सुधार अभियान अघि बढाएको छ।

उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको कार्यदलले देशभरबाट सुझाव संकलन गर्नेछ। पार्टी नेतृत्वले प्राप्त सुझावका आधारमा संगठनलाई थप प्रभावकारी र जनमुखी बनाउने जनाएको छ।

निर्वाचनमा ठूलो धक्का खाएपछि एमाले अहिले आत्मसमीक्षा, संगठन सुधार र जनमत पुर्नजागरणको अभियानमा लागेको छ ।