काठमाडौं— विपद्का समयमा सही, विश्वसनीय र समयमै सूचना प्रवाह गर्न सके मानवीय तथा भौतिक क्षति न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने सरोकारवालाले बताएका छन्। उनीहरूले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका हरेक चरणमा सञ्चारमाध्यमलाई प्रभावकारी साझेदारका रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याएका छन्।

सूचना तथा सञ्चार विभाग र विपद् पत्रकारिता सञ्जाल (डीएनजे) ले बुधबार काठमाडौंमा आयोजना गरेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी पत्रकार अभिमुखीकरण कार्यक्रममा वक्ताहरूले विपद्का बेला सञ्चारमाध्यम केवल सूचना सम्प्रेषण गर्ने माध्यम मात्र नभई जनचेतना अभिवृद्धि, पूर्वतयारी प्रवर्द्धन र उद्धार कार्यमा सहजीकरण गर्ने महत्वपूर्ण संयन्त्र भएको बताएका छन्।

कार्यक्रममा विपद् पूर्वतयारी नेटवर्क नेपालका अध्यक्ष डा. बसन्तराज अधिकारीले विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी, उद्धार तथा पुनःस्थापनाका सबै चरणमा सञ्चारमाध्यमको भूमिका प्रभावकारी रहने बताए। तथ्यपरक र समयमै सूचना सम्प्रेषणले जनधनको क्षति कम गर्न उल्लेखनीय सहयोग पुग्ने उनको भनाइ थियो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव, प्रवक्ता तथा सूचना अधिकृत शान्ति महतले विपद्सम्बन्धी समाचार सम्प्रेषण गर्दा तथ्यमा आधारित, संवेदनशील र जिम्मेवार पत्रकारितालाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन्। उनले विपद् जोखिम न्यूनीकरणसम्बन्धी जनचेतना विस्तार गर्न सञ्चारकर्मीको सक्रिय सहभागिता अपरिहार्य रहेको बताइन्।

बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले नेपालमा बाढी सबैभन्दा बढी विपद्का घटना निम्त्याउने गरेको उल्लेख गर्दै विभागले तीन दिनसम्मको मौसम तथा बाढी पूर्वानुमान सार्वजनिक गरिरहेको जानकारी दिए। उनले पूर्वसूचनाको प्रभावकारी प्रसारणले सम्भावित जोखिम न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

विपद् पत्रकारिता सञ्जालका अध्यक्ष अमिका राजथलाले विपद्का घटनाबाट महिला र बालबालिका तुलनात्मक रूपमा बढी प्रभावित हुने भएकाले समाचार सम्प्रेषणका क्रममा उनीहरूका सवाललाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरिन।

अभिमुखीकरण कार्यक्रममा विपद् व्यवस्थापनसम्बन्धी नीति, कानुनी व्यवस्था, सञ्चार रणनीति तथा विपद् पत्रकारिताका चुनौती र अवसरबारे सहभागी पत्रकारलाई जानकारी गराइएको थियो। कार्यक्रममा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सञ्चारमाध्यम र सञ्चारकर्मीको भूमिका अझ सशक्त बनाउनुपर्ने निष्कर्ष निकालिएको थियो।