काठमाडौं— कम्पनी रजिष्ट्रार कार्यालयका सम्पूर्ण अनलाइन सेवा अनिश्चितकालका लागि अवरुद्ध भएका छन्। सरकारको एकीकृत डाटा व्यवस्थापन केन्द्र (आईडीएमसी) मा आएको प्राविधिक समस्याका कारण इन्टरनेट सेवा प्रभावित भएपछि कार्यालयको सर्भर सञ्चालन हुन नसकेको कार्यालयले जनाएको छ।
कार्यालयले जारी गरेको सूचनाअनुसार असार २ गते मध्यान्हदेखि समस्या देखिन थालेपछि कम्पनी दर्ता, नवीकरण तथा अन्य सबै अनलाइन सेवा प्रभावित भएका हुन्।
प्राविधिक अवरोधका कारण सेवाग्राहीले अनलाइनमार्फत प्राप्त गर्दै आएका सम्पूर्ण सेवा हालका लागि स्थगित गरिएको कार्यालयले जनाएको छ। समस्या समाधान भएपछि सेवा पुनः सञ्चालन गरिने भए पनि कहिलेदेखि नियमित हुने भन्नेबारे भने कार्यालयले कुनै समयसीमा सार्वजनिक गरेको छैन।
यसले कम्पनी दर्ता तथा अन्य प्रशासनिक कामका लागि अनलाइन प्रणालीमा निर्भर सेवाग्राहीलाई तत्काल असर परेको छ।






































