चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन भरतपुरमा हुँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र होइन, पार्टीभित्रको शक्ति सन्तुलन, प्रभाव समूहको हैसियत र ‘नयाँ राजनीतिक संस्कार’को वास्तविक परीक्षणका रूपमा हेरिएको छ।

एकातिर रास्वपाले आफूलाई पुराना दलभन्दा फरक दाबी गर्दै आएको छ भने अर्कोतिर पहिलो महाधिवेशनमै ९९ केन्द्रीय सदस्यका लागि सयौं आकांक्षी मैदानमा उत्रिन तयार देखिनु पार्टीभित्र प्रतिस्पर्धा तीव्र बनेको मान्न सकिन्छ । 

४ हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिको सहभागिताबीच हुने निर्वाचनले पार्टीभित्र कसको प्रभाव कति छ भन्ने स्पष्ट तस्वीर दिनेछ । विशेषगरी प्रत्यक्ष निर्वाचित सांसद, समानुपातिक सांसद, पुराना अभियानकर्मी र पछिल्लो समय पार्टी प्रवेश गरेका नेताबीचको प्रतिस्पर्धाले महाधिवेशनलाई रोचक बनाएको छ।


रवि लामिछानेको परीक्षा पनि उत्तिकै महत्वपूर्ण

विधानअनुसार सभापति रवि लामिछानेलाई ५१ जना केन्द्रीय सदस्य मनोनीत गर्ने अधिकार छ । यही अधिकारलाई लिएर अहिले पार्टीभित्र चासो र बहस दुवै बढेको छ।

समर्थकहरू भन्छन्, विभिन्न समूह र क्षेत्रलाई समेटेर पार्टी एकताबद्ध बनाउन यो व्यवस्था आवश्यक छ। तर आलोचकहरू भने यही प्रावधानले भविष्यमा नेतृत्व केन्द्रित संरचना बलियो बन्ने खतरा रहेको टिप्पणी गर्छन्।

यसकारण महाधिवेशनपछि रविले कसलाई समेट्छन् र कसलाई बाहिर राख्छन् भन्ने विषय पनि चुनाव परिणाम जत्तिकै महत्वपूर्ण बन्ने देखिएको छ।


महिला नेतृत्वमा चर्को प्रतिस्पर्धा

महिला उपसभापति पदमा देखिएको प्रतिस्पर्धाले पार्टीभित्र महिला नेतृत्व विस्तारको संकेत दिएको छ । तर एउटै पदका लागि धेरै आकांक्षी हुँदा सहमति जुटाउन कठिन हुने अवस्था देखिएको छ। त्यसैगरी महामन्त्री र सहमहामन्त्री पदमा पनि आकांक्षीको संख्या बढेकाले सहमति भन्दा निर्वाचनतर्फ पार्टी अघि बढ्ने सम्भावना बलियो बनेको छ।

‘हारे पनि अवसर’को बहस

महाधिवेशनको अर्को रोचक पाटो भनेको निर्वाचनमा पराजित भएका नेताको भविष्य हो।

विधानले स्पष्ट रूपमा उल्लेख नगरे पनि आवश्यक ठानिएका नेताहरूलाई सभापतिले मनोनीत गरेर नेतृत्वमा ल्याउन सक्ने चर्चा पार्टीभित्र चलिरहेको छ। यसले एकातिर समावेशी प्रतिनिधित्वको अवसर दिने तर्क छ भने अर्कोतिर निर्वाचनको औचित्यमाथि प्रश्न उठ्न सक्ने जोखिम पनि देखिन्छ।

नयाँ दलको पुरानै रोग 

रास्वपाले स्थापना कालदेखि नै गुटबन्दीविहीन र पारदर्शी राजनीतिको वकालत गर्दै आएको छ । तर पहिलो महाधिवेशनमै पद र प्रभावका लागि तीव्र प्रतिस्पर्धा देखिनु नयाँ दल पनि पुरानै राजनीतिक प्रवृत्तिबाट मुक्त हुन नसकेको संकेतका रूपमा कतिपयले व्याख्या गर्न थालेका छन्। अबको केही दिनले रास्वपा वास्तवमै संस्थागत लोकतन्त्रतर्फ अघि बढ्छ कि नेतृत्व केन्द्रित संरचनातर्फ झुक्छ भन्ने प्रश्नको उत्तर दिनेछ।

स्ट्यान्डअप 

चितवनमा जारी रास्वपाको पहिलो महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभएर पार्टीको भविष्यको दिशानिर्देश गर्ने राजनीतिक परीक्षा पनि बनेको छ। चुनावी प्रतिस्पर्धा, शक्ति सन्तुलन र सभापतिको मनोनयन अधिकारबीच रास्वपाको ‘नयाँ राजनीति’को नाराले कस्तो परिणाम दिन्छ, त्यसतर्फ अहिले सबैको नजर केन्द्रित भएको छ।