काठमाडौं। चितवन आज राजनीतिक गतिविधिको केन्द्र बनेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन आजदेखि सुरु हुँदैछ। महाधिवेशनमार्फत रास्वपाले नयाँ नेतृत्व चयनदेखि संगठन विस्तार र भावी राजनीतिक कार्यदिशा तय गर्ने तयारी गरेको छ। विशेष कुरा के छ भने महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले संयुक्त रूपमा गर्ने कार्यक्रम छ। हेरौँ यो रिपोर्ट।
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनका लागि चितवन पूर्ण रूपमा तयार भएको छ।भरतपुरस्थित गेष्टहाउस चौरमा हुने महाधिवेशनमा देशभरबाट आएका हजारौं प्रतिनिधिको सहभागिता रहनेछ। रास्वपाका अनुसार महाधिवेशनको व्यवस्थापन, आवास, यातायात, सुरक्षा तथा स्वयंसेवक परिचालनलगायतका सबै तयारी पूरा भइसकेका छन्।
महाधिवेशनमा तीन हजार नौ सय अठार प्रतिनिधि सहभागी हुँदैछन्। जिल्ला, प्रदेश र विदेशस्थित सम्पर्क समितिबाट प्रतिनिधि छनोटको प्रक्रिया पनि सकिएको छ। यसपटकको महाधिवेशन केवल नेतृत्व चयनमा मात्रै सीमित छैन। पार्टीको राजनीतिक, आर्थिक र संगठनात्मक प्रतिवेदनमाथि व्यापक छलफल हुने तयारी गरिएको छ।
महाधिवेशनमा पार्टी विधान संशोधन पनि मुख्य एजेण्डा बनेको छ। हाल १२१ सदस्यीय रहेको केन्द्रीय समिति विस्तार गरेर १५१ सदस्यीय बनाउने प्रस्ताव अघि सारिएको छ।
नयाँ व्यवस्थाअनुसार पदाधिकारीमा महिला सहभागिता अनिवार्य बनाइने भएको छ। उपसभापति, सहमहामन्त्री, सहप्रवक्ता र सहकोषाध्यक्ष पदमा कम्तीमा एक महिला रहने व्यवस्था प्रस्ताव गरिएको छ।यस्तै, १५१ सदस्यीय केन्द्रीय समितिमध्ये ५१ सदस्य पार्टी सभापतिले मनोनयन गर्न सक्ने प्रस्ताव पनि महाधिवेशनमा प्रस्तुत गरिनेछ।
रास्वपा नेतृत्वले महाधिवेशनलाई संगठन सुदृढीकरण, राजनीतिक रणनीति निर्माण र जनसम्बन्ध विस्तारको महत्वपूर्ण अवसरका रूपमा लिएको छ। पार्टीका अनुसार हाल देशभर ६१० पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ भने चार हजार ६३ वडामा संगठन विस्तारको प्रक्रिया पूरा गरिएको छ।
नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपाका लागि पहिलो महाधिवेशनलाई संगठनको भविष्य तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। नेतृत्व चयनदेखि विधान संशोधनसम्मका निर्णयले आगामी दिनमा पार्टीको राजनीतिक दिशा निर्धारण गर्ने रास्वपा स्रोतले बताएको छ ।




































