चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन ले राजसंस्थाको पक्षमा रहेका मतदाताको ठूलो हिस्सा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ गएको दाबी गरेका छन्। रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले राजावादी मतदाताले समेत परिवर्तनको अपेक्षासहित रास्वपालाई समर्थन गरेको बताए।
“राजा चाहिन्छ भन्ने मतदाताको भोट पनि रास्वपाले पाएको छ। राप्रपा हुँदाहुँदै पनि बालेनले परिवर्तन ल्याउँछन् भन्ने विश्वासका साथ धेरैले तपाईंहरूलाई मत दिएका हुन्,” उनले भने।
लिङदेनले जनताले पुराना राजनीतिक दलप्रति निराशा व्यक्त गर्दै नयाँ शक्तिमाथि आशा राखेको उल्लेख गरे। त्यसैले जनताको त्यो विश्वास र अपेक्षालाई व्यवहारमा उतार्ने जिम्मेवारी रास्वपाको काँधमा रहेको उनको भनाइ थियो।
उनले नेपालको समस्या केवल नेतृत्वमा सीमित नरहेको बताउँदै वर्तमान संविधान र शासन व्यवस्थामा समेत सुधार आवश्यक रहेको धारणा राखे। संविधान संशोधन र प्रणाली सुधारबिनाको परिवर्तन अपूरो हुने जिकिर गर्दै उनले रास्वपासँग ऐतिहासिक अवसर रहेको बताए।
लिङदेनको भनाइले महाधिवेशनमा उपस्थित प्रतिनिधिमाझ राजनीतिक व्यवस्था, संविधान र जनअपेक्षाबारे नयाँ बहसको संकेत दिएको छ।






































