चितवन । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपाले आफूलाई कुनै ‘ललिपप’ देखाएको भन्ने टिप्पणीको कडा प्रतिवाद गरेका छन्। रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आफूले जीवनभर संघर्षको राजनीति गरेको स्मरण गराउँदै पद र लाभको लोभमा नलाग्ने स्पष्ट पारे।

“म सारा जीवन मर्न हिँडेको मान्छे, के ललिपप खाने?  प्रधानमन्त्री भइसकेको मान्छेले अब के पाउन बाँकी छ ?” उनले प्रश्न गरे। भट्टराईले आफू सुशासन, समृद्धि र वैकल्पिक राजनीतिको अभियानलाई अगाडि बढाउन चाहेको बताउँदै रास्वपाको उदयलाई त्यसै अभियानको नयाँ कडीका रूपमा व्याख्या गरे।

उनले पुरानो पुस्ताले सुरु गरेको परिवर्तनको यात्रालाई नयाँ राजनीतिक शक्तिहरूले अघि बढाउनुपर्ने उल्लेख गर्दै रास्वपालाई त्यसको अगुवा शक्तिका रूपमा शुभकामना समेत दिए।