चितवन । प्रधानमन्त्री बालेन्द्र शाहले भ्रष्टाचार र सरकारी रकम दुरुपयोगमा संलग्न जोसुकै भए पनि कारबाहीबाट नबच्ने चेतावनी दिएका छन्। आवश्यक परे अख्तियारसँग वर्षौंसम्म परामर्श गरेर पनि कानुनी प्रक्रिया अघि बढाउने उनले बताए।
रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आफ्नो नेतृत्वको सरकार विकास र काममा केन्द्रित भए पनि विगतका अनियमितता र भ्रष्टाचारका विषयमा भने कठोर रूपमा प्रस्तुत हुने जिकिर गरे । “हामी पुराना कुरा कोट्याएर राजनीति गर्दैनौं। तर जहाँ सरकारी पैसा दोहन भएको छ, त्यहाँ अवश्य पुग्छौं,” उनले भने।
प्रधानमन्त्री शाहले सरकारले कानुनको सीमाभित्र रहेर काम गर्ने स्पष्ट गर्दै आवश्यक परे अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग लामो समयसम्म समन्वय गरेर पनि सत्यतथ्य बाहिर ल्याइने बताए। “अख्तियारलाई ५ घण्टा होइन, आवश्यक परे ५ वर्ष राखेर पनि सल्लाह गर्छौं। नियम र कानुनभन्दा बाहिर जाँदैनौं,” उनले भने।
उनले सरकारको काम गर्ने शैली बाहिरबाट आक्रामक देखिए पनि सबै निर्णय कानुनी दायराभित्रै रहेर हुने दाबी गरे। प्रधानमन्त्रीको यो अभिव्यक्तिलाई भ्रष्टाचारविरुद्धको कडा सन्देशका रूपमा हेरिएको छ।




































