काठमाडौं । विश्व फुटबलका नायक मानिने लियोनल मेसी फेरि एकपटक इतिहासको ढोकामा उभिएका छन्। फिफा विश्वकप २०२६ अन्तर्गत आज अस्ट्रियाविरुद्ध मैदान उत्रँदा मेसीको लक्ष्य केवल अर्जेन्टिनालाई जित दिलाउने मात्र होइन, विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बन्ने पनि हुनेछ।

पहिलो खेलमै ह्याट्रिक गर्दै विश्वकपमा १६ गोल पुर्‍याएका मेसीले जर्मनीका मिरोस्लाभ क्लोजको कीर्तिमान बराबरी गरिसकेका छन्। अब अस्ट्रियाविरुद्ध एक गोल थप्नासाथ मेसी विश्वकप इतिहासका एकल सर्वाधिक गोलकर्ता बन्नेछन्।

सन् २००६ देखि २०२६ सम्म फैलिएको विश्वकप यात्रामा मेसीले अर्जेन्टिनाका लागि लगातार कीर्तिमान रच्दै आएका छन्। उनी विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडीसमेत हुन्।

यसैले आजको खेल अर्जेन्टिनाका लागि मात्र होइन, विश्व फुटबल इतिहासका लागि पनि विशेष मानिएको छ। अब सबैको नजर डालासको मैदानमा हुनेछ— जहाँ मेसीले अर्को ऐतिहासिक अध्याय लेख्छन् कि लेख्दैनन् भन्ने चासो विश्वभर छ।