काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को प्रथम महाधिवेशन चलिरहेका बेला नयाँ विवाद सतहमा आएको छ। पार्टी सभापति रवि लामिछानेविरुद्ध सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका भोला कुमार साह कानुको नाम महाधिवेशन प्रतिनिधिको अन्तिम सूचीबाट हटाइएको भन्दै विवाद सुरु भएको हो।
बारा क्षेत्र नम्बर–३ का कानुले सामाजिक सञ्जालमार्फत आफ्नो नाम प्रतिनिधिको अन्तिम सूचीमा नराखिएको भन्दै असन्तुष्टि जनाएका छन्। उनले यसअघि सभापति पदमा रवि लामिछानेसँग प्रतिस्पर्धा गर्ने सार्वजनिक घोषणा गरेका थिए।
कानुले बर्खास्तीमा परेका बारा जिल्ला सभापति चन्दन स्वर्णकारको सदस्यता कायम गर्नुपर्ने माग राख्दै पार्टी नेतृत्वको आलोचना समेत गरेका थिए। त्यसपछि आफूलाई प्रतिनिधिको सूचीबाट हटाइएको हुनसक्ने आशंका उनले व्यक्त गरेका छन्।
यद्यपि उनको नाम किन हटाइयो भन्ने विषयमा रास्वपा नेतृत्व वा निर्वाचन आयोगले कुनै आधिकारिक धारणा सार्वजनिक गरेका छैनन्। नाम प्राविधिक कारणले हटाइएको हो वा उम्मेदवारी घोषणासँग सम्बन्धित विषय हो भन्ने अझै स्पष्ट हुन सकेको छैन।
महाधिवेशन प्रतिनिधिको सूचीलाई लिएर यसअघि पनि विभिन्न प्रदेशबाट असन्तुष्टि देखिएको थियो। अहिले सभापतिलाई चुनौती दिने नेताको नाम नै प्रतिनिधि सूचीमा नपरेको दाबी बाहिरिएपछि रास्वपाभित्र आन्तरिक लोकतन्त्र, प्रतिस्पर्धा र पारदर्शितामाथि थप बहस सुरु भएको छ।
महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढिरहेका बेला प्रतिनिधि छनोटसम्बन्धी विवादले पार्टीभित्रको असन्तुष्टि सतहमै आएको देखिएको छ। अब यस विषयमा पार्टी नेतृत्वले दिने स्पष्टीकरणलाई चासोका साथ हेरिएको छ।






































