काठमाडौं। नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई लक्षित गर्दै देशभर संगठन विस्तारको अभियान सुरु गरेको छ। पार्टीले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउँदै नयाँ क्रियाशील सदस्यता वितरणलाई तीव्र बनाएको हो।
यसपटक कांग्रेसको मुख्य ध्यान ३५ वर्षमुनिका युवामा केन्द्रित छ। युवा पुस्तालाई पार्टीभित्र आकर्षित गर्दै आगामी नेतृत्व निर्माणको आधार तयार गर्ने रणनीतिअनुसार प्रतिनिधिहरूलाई जिल्लामा पठाइएको छ।
असार ७ देखि २० गतेसम्म चल्ने अभियानमा प्रतिनिधिहरूले सदस्यता वितरण, समन्वय र संगठन सुदृढीकरणको जिम्मेवारी सम्हाल्नेछन्। कांग्रेसभित्र यसलाई केवल सदस्यता अभियान नभई आगामी महाधिवेशन र नेतृत्व प्रतिस्पर्धाको ‘ग्राउन्ड तयारी’ का रूपमा समेत हेरिएको छ।
कांग्रेस अब पुराना कार्यकर्ता मात्र होइन, नयाँ पुस्ताको मत र मन जित्ने दौडमा खुलेर उत्रिएको सन्देश दिन खोजिरहेको देखिन्छ।
कुन जिल्लामा को को छनोट भए ?
कोशी प्रदेशमा ताप्लेजुङका लागि हिमालय कर्माचार्य, पाँचथरमा उमा शिवाकोटी, इलाममा यदु विष्ट, झापामा राजीव कोइराला, मोरङमा सुधीरकुमार शिवाकोटी, सुनसरीमा कुमार लुइँटेल, धनकुटामा नगेन्द्र कुमाल, उदयपुरमा दिनेशकुमार यादव, भोजपुरमा दीपनकुमार श्रेष्ठ, तेह्रथुममा मेदिनीप्रसाद सिटौला, संखुवासभामा रुद्र कन्दङ्वा, सोलुखुम्बुमा लक्ष्मी परियार, खोटाङमा दीपक अधिकारी र ओखलढुंगामा आङ्गेलु शेर्पालाई केन्द्रीय प्रतिनिधि तोकिएको छ।
मधेश प्रदेशमा सप्तरीका लागि रामपल्टन साह, सिरहामा रामकुमार यादव, धनुषामा सुवासकुमार पोख्रेल, महोत्तरीमा शम्भुलाल श्रेष्ठ, सर्लाहीमा अनिलकुमार झा, रौतहटमा प्रमोदहरि गुरागाईं, बारामा मथुराप्रसाद घिमिरे र पर्सामा उज्ज्वलप्रसाद बराललाई जिम्मेवारी दिइएको छ।
बागमती प्रदेशमा काठमाडौंका लागि उदयशमशेर राणा, ललितपुरमा मनोजमणि आचार्य, भक्तपुरमा राजेन्द्रकुमार केसी, रसुवामा ईश्वर अधिकारी, नुवाकोटमा वंशलाल तामाङ, धादिङमा सुशील भट्ट, चितवनमा डा। केदारनरसिंह केसी, मकवानपुरमा बद्रीप्रसाद अर्याल, काभ्रेमा शिव सुनार, सिन्धुपाल्चोकमा इच्छु राना, सिन्धुलीमा डा। मुकेश काफ्ले, रामेछापमा सीता मिजार र दोलखामा ओम घर्तीमगर खटिएका छन्।
गण्डकी प्रदेशमा गोरखाका लागि तिलक रानाभाट, लमजुङमा कृष्णबहादुर केसी, तनहुँमा कुसुमदेवी थापामगर, मनाङमा मनकुमारी गुरुङ, मुस्ताङमा जगदीश उपाध्याय, म्याग्दीमा छन्दबहादुर पहराई, बागलुङमा जितनारायण श्रेष्ठ, पर्वतमा रेशमबहादुर बानियाँ, कास्कीमा विष्णुदेवी पाण्डे, स्याङ्जामा दीपक भट्टराई र नवलपुरमा डा। गोपाल दहितलाई जिम्मेवारी दिइएको छ।
लुम्बिनी प्रदेशमा रुकुमपूर्व का लागि भीम श्रीष, रोल्पामा किरणकिशोर घिमिरे, प्युठानमा टेकराज पौडेल, दाङमा राधेश्याम पाठक, बाँकेमा महेन्द्र शर्मा, बर्दियामा सुरेन्द्रप्रसाद चौधरी, अर्घाखाँचीमा राजेन्द्रगोपाल सिंह, गुल्मीमा हरि आचार्य, पाल्पामा मुना भुसाल, रुपन्देहीमा नारायणप्रसाद भट्टराई, कपिलवस्तुमा प्रदीपराज शर्मा र परासीमा केशवप्रसाद निरौला खटिएका छन्।
कर्णाली प्रदेशमा हुम्लाका लागि सूर्यबहादुर विक, जुम्लामा तपेन खड्का, मुगुमा युवराज पाण्डे, कालिकोटमा कमलराज रेग्मी, डोल्पामा बलदेव तिमिल्सिना, दैलेखमा तीर्थजंग शाही, सुर्खेतमा लेखनाथ पोख्रेल, सल्यानमा केशवराज आचार्य, जाजरकोटमा छाया सुनार र रुकुम पश्चिममा नारायण कोइरालालाई प्रतिनिधि तोकिएको छ।
सुदूरपश्चिम प्रदेशमा अछामका लागि जगतप्रसाद जोशी, बझाङमा विजयबहादुर स्वार, बाजुरामा गणेशराज भट्ट, डोटीमा हिमबहादुर रावल, डडेल्धुरामा सम्झना खत्री, दार्चुलामा सन्तोषी साउद ऐरी, बैतडीमा सुशीला मिश्र भट्ट, कञ्चनपुरमा दिलेन्द्रप्रसाद बडू र कैलालीमा मधु आचार्यलाई केन्द्रीय प्रतिनिधिको जिम्मेवारी दिइएको छ।






































