काठमाडौं— पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको छ।

पौडेलकी पत्नीले दायर गरेको रिटमा उनलाई राजनीतिक पूर्वाग्रहका आधारमा कुनै ठोस प्रमाणबिनै पक्राउ गरिएको उल्लेख गर्दै तत्काल रिहा गर्न अदालतसँग माग गरिएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दिपक भट्ट र कमलकिशोर मालपानी समूहबीचको शेयर कारोबारमा चिनजान गराइदिएको भनिएको बयानलाई आधार बनाएर पौडेललाई पक्राउ गरेको थियो। विभागले उनलाई अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अनुमति समेत लिएको छ।

गत सोमबार सुर्खेतमा एक सार्वजनिक कार्यक्रममा सहभागी रहेका बेला पक्राउ परेका पौडेललाई सोही रात काठमाडौं ल्याइएको थियो। उनको पक्राउपछि राजनीतिक वृत्तमा तीव्र प्रतिक्रिया देखिएको छ भने सर्वोच्चमा परेको रिटले यो प्रकरणलाई थप चर्चाको केन्द्रमा पुर्‍याएको छ।