चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य निर्वाचनको नतिजामाथि गम्भीर प्रश्न उठेको छ। आफूभन्दा कम मत ल्याएकी उम्मेदवारलाई निर्वाचित घोषणा गरिएको भन्दै गण्डकी प्रदेशकी उम्मेदवार पूजा बाँस्तोलाले निर्वाचन आयोगमा उजुरी दर्ता गरेकी छन्।

सार्वजनिक मतपरिणामअनुसार बाँस्तोलाले ८९३ मत प्राप्त गरेकी छन्। तर ८०० मत ल्याएकी विष्णुकुमारी गुरुङ (एकता) लाई निर्वाचित घोषणा गरिएको भन्दै उनले परिणाममाथि आपत्ति जनाएकी हुन्।

बाँस्तोलाले मतपरिणाम पुनः परीक्षण, सत्यतथ्य छानबिन र आवश्यक सुधारको माग गर्दै निर्वाचन आयोगसमक्ष औपचारिक उजुरी दिएकी छन्।

यो विवादले रास्वपाको पहिलो महाधिवेशनको निर्वाचन प्रक्रियामाथि नै प्रश्न उठाएको छ। अब निर्वाचन आयोगले उजुरीमाथि कस्तो निर्णय गर्छ, त्यसले विवादको निकास तय गर्नेछ।