काठमाडौं— मानसिक अस्पताल लगनखेलले बिरामीको सुविधा लक्षित गर्दै ओपीडी टिकट सेवा अनलाइनमार्फत उपलब्ध गराउन थालेको छ। अब सेवाग्राहीले अस्पतालको वेबसाइटमार्फत घरबाटै टिकट काट्न र डिजिटल माध्यमबाट शुल्क भुक्तानी गर्न सक्नेछन्।

नेपाल सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत बुँदा नम्बर ३२ कार्यान्वयन गर्दै अस्पतालले यो सेवा सुरु गरेको जनाएको छ। मंगलबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनपछि मन्त्रालयको अनुगमन टोलीले अस्पतालको निरीक्षण गरेको थियो।

अस्पतालका अनुसार नयाँ प्रणाली लागू भएसँगै टिकटका लागि अस्पतालमा लामो लाइन बस्नुपर्ने बाध्यता हट्नेछ। यसले सेवा प्रवाहलाई अझ सहज, छरितो र पारदर्शी बनाउने विश्वास अस्पतालले व्यक्त गरेको छ।

ओपीडी सेवा सार्वजनिक बिदाबाहेक हरेक दिन बिहान ९ बजेदेखि १ बजेसम्म तथा दिउँसो २ बजेदेखि ५ बजेसम्म सञ्चालन हुनेछ। अनलाइन टिकट लिएका बिरामीलाई भने बिहान ९ः३० देखि १२ः३० बजेसम्म र दिउँसो २स्३० देखि ४स्३० बजेसम्म अस्पतालमा उपस्थित हुन आग्रह गरिएको छ।