काठमाडौं— देशका विभिन्न जिल्लामा बर्डफ्लु फैलिन थालेपछि पशुसेवा विभागले सङ्क्रमित कुखुरा, हाँस, बट्टाइलगायत पन्छी तथा तिनका उत्पादन बिक्री–वितरण नगर्न व्यवसायीलाई कडा निर्देशन दिएको छ। विभागले बर्डफ्लु पुष्टि भएका पन्छी बजारमा बिक्री गरेको पाइए कानुनअनुसार कारबाही गरिने चेतावनी दिँदै आमनागरिकको स्वास्थ्यमा जोखिम नपुर्याउन आग्रह गरेको छ।
विभागका अनुसार गत चैतयता ११ जिल्लामा बर्डफ्लु देखिएपछि काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा प्राविधिक टोली तथा ‘र्यापिड रेस्पोन्स टिम’ परिचालन गरिएको छ। भाइरसले स्वरूप परिवर्तन गर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रमा निगरानी र नियन्त्रणका काम तीव्र बनाइएको विभागले जनाएको छ।
हालसम्म करिब सात लाख पन्छी, ११ लाख अण्डा र तीन लाख किलो दाना नष्ट गरिएको विभागले जनाएको छ। प्रभावकारी खोप उपलब्ध नभएकाले सङ्क्रमण पुष्टि भएका पन्छी तथा पन्छीजन्य उत्पादन तत्काल नष्ट गर्नु नै रोग नियन्त्रणको प्रभावकारी उपाय भएको विभागको भनाइ छ। प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयमार्फत मूल्यांकन तथा आवश्यक विवरण संकलनको काम पनि भइरहेको विभागले जनाएको छ।






































