काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले सय दिन पूरा गर्ने क्रममा परराष्ट्र नीतिमा केही नयाँ अभ्यास सुरु गरेको दाबी गरेको छ। सरकारले राष्ट्रिय हितलाई केन्द्रमा राख्दै कूटनीतिक पहुँच विस्तार, संस्थागत प्रणाली सुदृढीकरण र आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखेको जनाएको छ।

सरकारले परराष्ट्र मन्त्रालयको समन्वयबिना मन्त्री वा उच्च सरकारी अधिकारीले विदेशी राजदूत तथा कूटनीतिक प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गर्न नपाउने व्यवस्था लागू गर्दै कूटनीतिक आचारसंहिताको कडाइका साथ पालना गराएको बताएको छ। यससँगै विगतमा प्रचलित अनौपचारिक भेटघाटको अभ्यास अन्त्य गर्ने प्रयास गरिएको सरकारको दाबी छ।

सय दिनको अवधिमा परराष्ट्रमन्त्री शिशिर खनालले नेपालका दुई प्रमुख छिमेकी भारत र चीनको औपचारिक भ्रमण गरी वर्तमान सरकारका विकास प्राथमिकता र नेपालको परराष्ट्र नीति स्पष्ट पारेका छन्।

चीन भ्रमणका क्रममा पूर्वाधार, ऊर्जा, व्यापार, लगानी, सीमा व्यवस्थापन, पर्यटन, सूचना प्रविधि, कृषि, कनेक्टिभिटी र जनस्तरको सम्बन्ध विस्तारलगायत विषयमा उच्चस्तरीय छलफल भएको थियो। नेपालले स्वतन्त्र, सन्तुलित र व्यावहारिक परराष्ट्र नीति अवलम्बन गरेको सन्देश पनि चीनसमक्ष राखिएको सरकारको भनाइ छ।

भारत भ्रमणमा सीमा, ऊर्जा व्यापार, जलस्रोत, आर्थिक सहकार्य, पर्यटन, लगानी र जनस्तरीय सम्बन्ध विस्तारलाई प्राथमिकतामा राख्दै दुई देशबीचको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो।

यसैबीच, परराष्ट्रमन्त्री खनालले मरिससमा आयोजित नवौँ हिन्द महासागर सम्मेलन मा सहभागी हुँदै नेपालको परराष्ट्र नीति संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, पञ्चशील, सार्वभौम समानता र पारस्परिक सम्मानका सिद्धान्तमा आधारित रहेको धारणा अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरेका थिए।

सरकारका अनुसार नेपालले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा सक्रिय सहभागिता जनाउँदै आर्थिक कूटनीति, दिगो विकास, जलवायु परिवर्तन, क्षेत्रीय सहकार्य तथा विश्व शान्तिको एजेन्डालाई निरन्तर अघि बढाइरहेको छ।

दुई ठूला छिमेकी भारत र चीनबीच रहेको नेपालले सन्तुलित, स्वतन्त्र र राष्ट्रिय हितमा आधारित परराष्ट्र नीतिमार्फत दुवै मुलुकसँग समान रूपमा मैत्रीपूर्ण सम्बन्ध विस्तार गर्ने रणनीतिलाई सरकारले सय दिनमा प्राथमिकताका साथ अघि बढाएको जनाएको छ।