काठमाडौं— एमबीबीएस र बीडीएस अध्ययनरत इन्टर्न चिकित्सकहरूले सरकारले गठन गरेको कार्यदलको सिफारिस तत्काल कार्यान्वयन गर्न माग गर्दै आन्दोलनको घोषणा गरेका छन्। लामो समयदेखि विभिन्न सरकारी निकायमा धाउँदा पनि सुनुवाइ नभएको भन्दै उनीहरूले असार २७ गते काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने बताएका छन्।
एमबीबीएस–बीडीएस इन्टर्न स्टाइपेन्ड एकरुपता अभियानका अनुसार विगत करिब ८० दिनदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, चिकित्सा शिक्षा आयोग तथा प्रतिनिधिसभाको शिक्षा–स्वास्थ्य समितिसम्म आफ्नो माग राखिए पनि कुनै ठोस निर्णय नभएकाले आन्दोलनको बाटो रोज्नुपरेको हो। अभियानले अझै पनि संवाद र संस्थागत प्रक्रियाबाटै समाधान खोज्न चाहेको स्पष्ट पारेको छ।
गत वैशाखमा सरकारलाई बुझाइएको ‘एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकहरूको मासिक निर्वाह भत्तासम्बन्धी कार्यदलको प्रतिवेदन–२०८३’ ले इन्टर्न चिकित्सकलाई स्वास्थ्य सेवाको आठौं तहका मेडिकल अधिकृतको तलबको ५० प्रतिशत बराबर मासिक निर्वाह भत्ता उपलब्ध गराउने र देशभरका सबै शिक्षण संस्थामा समान व्यवस्था लागू गर्न सिफारिस गरेको थियो। तर उक्त प्रतिवेदन कार्यान्वयनतर्फ कुनै प्रक्रिया अघि नबढाइएको भन्दै इन्टर्न चिकित्सकहरूले सरकार र चिकित्सा शिक्षा आयोगको गम्भीर ध्यानाकर्षण गराएका छन्।




































