काठमाडौं / पूर्व राज्यमन्त्री, उद्योगपति तथा समाजसेवी हरिप्रसाद पाण्डेद्वारा लिखित ‘सम्पूर्ण नेपालीले प्रतिज्ञा गरौँः समृद्धि प्राप्त नगरि मर्ने छैनौं’ नामक पुस्तक सार्वजनिक गरिएको छ ।

सोमबार मातृसेवा प्रतिष्ठान नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पुस्तकको विमोचन गरिएको हो । पुस्तक विमोचनपछि बोल्दै लेखक पाण्डेले नेपाललाई आत्मनिर्भर र समृद्ध राष्ट्र बनाउन पुस्तकमार्फत विभिन्न व्यवहारिक प्रस्ताव अघि सारेको बताए । देशको गरिबी, परनिर्भरता र कमजोर अन्तर्राष्ट्रिय पहिचान अन्त्य गर्न प्रत्येक नेपालीले राष्ट्रिय व्रतका रूपमा तीन वटा नियम अपनाउनुपर्ने उनको भनाइ थियो । 

उनले भने, ‘हाम्रो गरिबी, परनिर्भरता र अत्यन्त कमजोर विश्वव्यापी पहिचान र हैसियत राम्रो नहुँदासम्म तीनवटा नियमहरूमा आधारित राष्ट्रिय व्रतको प्रयोग गरौँ भन्ने मेरो प्रस्ताव छ । क स्वदेशी वस्तु र सम्भावनाको प्रयोग गरौँ। ख सकेसम्म कम खर्चमा जीवन प्रयोगमा ल्याऔँ । ग सकेसम्म बढी प्रतिफल प्राप्त हुनेखाले कार्यमा संलग्न होऔँ । यो हरेक नेपालीले राष्ट्रिय रूपमा प्रयोगमा ल्याउनुपर्ने ठानेको छु। यो प्रस्ताव भावनात्मक लाग्न सक्छ तर अध्याय १२ पढ्नुभयो भने त्यसको यथार्थ अवगत हुनेछ । अध्याय १३ मा राष्ट्रिय सहमति बनाएर केही कठोर प्रयोग गर्नुपर्ने विषय पनि उल्लेख गरिएको छ ।’

यस्तै, पुस्तकमाथि आफ्नो धारणा राख्दै पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराईले राजनीतिक अधिकारसँगै आर्थिक रूपान्तरणलाई प्राथमिकतामा राख्नुपर्ने बताए । राजनीतिक स्थिरता, सुशासन र दीर्घकालीन योजनाका आधारमा निजी, सार्वजनिक तथा सामुदायिक क्षेत्रको साझेदारीबाट मात्रै समृद्धि सम्भव हुने उनको भनाइ थियो। उनले भने, ‘राजनीतिक अधिकार चाहिन्छ। त्यसको जगमा सम्पूर्ण जनताको सहभागितामा मानवीय साधन स्रोत र प्राकृतिक स्रोत साधनको अधिकतम प्रयोग गरेर राष्ट्रिय–अन्तर्राष्ट्रिय सम्बन्धको सन्तुलन मिलाउनुपर्छ । हामी कृषि प्रधान अर्थतन्त्रबाट औद्योगिक र सेवा प्रधान अर्थतन्त्रमा जाने चरणमा छौँ । त्यसलाई केही वर्ष वा दशकसम्म राजनीतिक स्थिरता, सुशासन र योजनाबद्ध ढंगले अघि बढाउँदै निजी क्षेत्र, राज्य क्षेत्र र सामुदायिक क्षेत्रलाई संविधानको मर्मअनुसार परिचालन गर्न सक्यौँ भने देश बन्छ भन्ने हाम्रो निष्कर्ष हो ।’

पत्रकार टिकाराम यात्रीले पुस्तकमा नेपालको समृद्धिका सम्भावित आधारहरूको राम्रो विश्लेषण गरिएको उल्लेख गर्दै वर्तमान विश्वमा प्रविधिलाई केन्द्रमा नराखी समृद्धि हासिल गर्न कठिन हुने बताए । उनले भने, ‘नेपालको समृद्धिको आधारमा विशेषगरी जनशक्ति, दोस्रोमा जलस्रोत, तेस्रोमा जमिनको व्यवस्थापन, चौथोमा व्यवसायिक क्षेत्र, पाँचौँमा निर्माण उद्योग, छैटौँमा पर्यटन, सातौँमा शिक्षा र स्वास्थ्य पर्यटन प्रवद्र्धन, आठौँमा वैदेशिक लगानी र नवौँमा श्रम बजार हुँदै राष्ट्रिय व्रतको पनि संकल्प गर्नुभएको छ। मैले यसमा के थप्न चाहेँ भने समृद्धिको आधार आजका भन्दा पुराना मानकहरू हुन्। तर आज विश्वव्यापी रूपमा संसारका १०० सबैभन्दा ठूला कम्पनीमध्ये ५० भन्दा बढी टेक्नोलोजीसँग सम्बन्धित छन्। त्यसैले आजको समृद्धिको आधार टेक्नोलोजीमा ध्यान दिनुभएन भने यी परम्परागत कुराले मात्रै भविष्य धान्न सक्दैनन्।’

पूर्वसांसद डा।चन्द्र भण्डारीले पुस्तकलाई अनुभवबाट प्राप्त ज्ञानको संग्रहको रूपमा व्याख्या गर्दै व्यवहारिक नेतृत्व र कार्यान्वयनको आवश्यकता औँल्याए। उनले भने, ‘यो पुस्तक अनुभवको संग्रह हो। यो ज्ञानको संग्रह होइन, अनुभवबाट प्राप्त गरेको ज्ञान हो। यसरी मैले यो किताबलाई हेरेको छु। अब देश बनाउनका लागि ‘सम्पूर्ण नेपालीले प्रतिज्ञा गरौँः समृद्धि प्राप्त नगरि मर्ने छैनौँ’ भन्ने भावना जन्मदेखि नै प्रत्येक नेपालीमा हुनुपर्छ । हिजो चितवनमा धुव्रे हात्तीले दुई जना मानिस मारिदियो। त्यही हात्तीले १५ वर्षअघि पनि त्यही परिवारका सदस्यलाई मारेको रहेछ। धुव्रे हात्तीले २५ जना मानिस मारिसकेको रहेछ, त्यसको व्यवस्थापन गर्न सकेका छैनौँ। अब सिंहदरबारबाट निस्कने धुव्रे हात्तीको व्यवस्थापन कसरी गर्न सक्छौँ रु पढाइ, किताब र अनुभव फरक–फरक हुने रहेछन्।’

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षेत्री, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारी लगायतका व्यक्तिहरुले पुस्तकमाथि आफ्नो धारणा व्यक्त गरेका थिए ।