काठमाडौं। राहदानी विभागले नयाँ प्रणालीमार्फत राहदानी वितरण सुरु गरेको छ। सोमबारदेखि त्रिपुरेश्वरस्थित विभागको कार्यालयमै नयाँ प्रविधिबाट राहदानी छाप्ने र वितरण गर्ने काम औपचारिक रूपमा सुरु भएको हो।
विभागका अनुसार पहिलो दिनमै केही सेवाग्राहीले नयाँ प्रणालीबाट तयार भएका राहदानी प्राप्त गरिसकेका छन्। राहदानी लिन, नवीकरण गर्न वा नयाँ आवेदन दिन भने जिल्ला प्रशासन कार्यालय, राहदानी विभाग तथा विदेशस्थित नेपाली नियोगबाट पहिलेकै प्रक्रियाअनुसार सेवा लिन सकिने जनाएको छ।
विभागले नयाँ प्रणाली पूर्ण रूपमा स्थिर हुन करिब तीन महिना लाग्न सक्ने भन्दै सुरुका दिनमा सामान्य प्राविधिक समस्या देखिन सक्ने भए पनि सेवा नियमित रूपमा सञ्चालन हुने विश्वास व्यक्त गरेको छ।




































