काठमाडौं। विश्व फुटबल फेरि एकपटक इतिहासको सबैभन्दा भावनात्मक प्रतिस्पर्धाको साक्षी बन्दैछ। सन् १९८६ मा डिएगो म्याराडोनाको (ह्यान्ड अफ गड) गोल र फकल्यान्ड युद्धको स्मृतिले चिनिएको अर्जेन्टिना–इंग्ल्यान्ड प्रतिस्पर्धा अब विश्वकप २०२६ को सेमिफाइनलमा पुनः दोहोरिँदैछ। एकातिर लगातार दोस्रो विश्वकप जित्ने लक्ष्यमा अर्जेन्टिना, अर्कोतर्फ ६ दशक लामो उपाधि खडेरी अन्त्य गर्ने अभियानमा इंग्ल्यान्ड। इतिहास, प्रतिष्ठा र फाइनल यात्राको महालडाइँ कस्तो होला ?
फुटबलका दुई महाशक्ति अर्जेन्टिना र इंग्ल्यान्ड फेरि विश्वकपको सेमिफाइनलमा आमनेसामने हुँदैछन्। एटलान्टामा हुने यो खेल केवल यो केवल ९० वा १२० मिनेटको खेल होइन, चार दशक लामो इतिहास, राजनीति, भावना र फुटबलको महाकाव्य हो। चार दशकभन्दा लामो इतिहास र भावनाको निरन्तरता पनि हो।
सन् १९८६ को विश्वकप क्वार्टरफाइनलमा डिएगो म्याराडोनाले गरेको विवादास्पद ‘ह्यान्ड अफ गड’ गोल र त्यसको केही मिनेटपछि गरेको ‘गोल अफ द सेन्चुरी’ आज पनि फुटबल इतिहासका सबैभन्दा चर्चित क्षण मानिन्छ। त्यो खेल फकल्यान्ड युद्धको चार वर्षपछि भएकाले अर्जेन्टिनाका लागि खेलभन्दा धेरै ठूलो भावनात्मक विजय बनेको थियो।
यसपटक अर्जेन्टिनाको नेतृत्व लियोनेल मेस्सीले गरिरहेका छन्। अन्तर्राष्ट्रिय करियरमा पहिलो पटक इंग्ल्यान्डविरुद्ध विश्वकप खेल्न लागेका मेस्सी अर्जेन्टिनालाई लगातार दोस्रो विश्वकप उपाधितर्फ डोर्याउने लक्ष्यमा छन्।
अर्जेन्टिनाको आक्रमणमा मेस्सीसँगै जुलियन अल्भारेज र लौटारो मार्टिनेज प्रभावशाली लयमा छन्। उता इंग्ल्यान्डका ह्यारी केन र जुड बेलिङ्घम उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई सेमिफाइनलसम्म पुर्याएका छन्।
इतिहास पनि अर्जेन्टिनाको पक्षमा देखिन्छ। विश्वकपमा खेलेका सबै सेमिफाइनल पार गरेको अर्जेन्टिना यसपटक पनि त्यो कीर्तिमान जोगाउने लक्ष्यमा हुनेछ। तर इंग्ल्यान्ड नयाँ इतिहास रच्दै ६० वर्षपछि विश्वकप जित्ने सपना बोकेर मैदान उत्रने तयारीमा छ।
विदेशी प्रशिक्षकको अर्को रोचक संयोग पनि इंग्ल्यान्डसँग जोडिएको छ। विश्वकप इतिहासमा अहिलेसम्म कुनै पनि विदेशी प्रशिक्षकले आफ्नो टोलीलाई च्याम्पियन बनाउन सकेका छैनन्। जर्मन प्रशिक्षक थोमस टुचेलको नेतृत्वमा रहेको इंग्ल्यान्डले जित निकाले त्यो पनि नयाँ इतिहास हुनेछ।
फुटबल विश्लेषकका अनुसार अर्जेन्टिना–इंग्ल्यान्ड खेल केवल फुटबल होइन, इतिहास, मनोविज्ञान र दबाबको पनि प्रतिस्पर्धा हो। जसले दबाब राम्रोसँग सम्हाल्छ, फाइनलको टिकट उसैले काट्नेछ।
एटलान्टाबाट विश्व फुटबलको नजर अब यही खेलमा केन्द्रित हुनेछ। एकातिर मेस्सीको अन्तिम विश्वकप यात्रालाई स्वर्णिम बनाउने अर्जेन्टिनाको सपना, अर्कोतर्फ इंग्ल्यान्डको ६ दशक लामो प्रतीक्षा अन्त्य गर्ने लक्ष्य। इतिहास दोहोरिने कि नयाँ इतिहास लेखिने रु यसको जवाफ अब मैदानले दिनेछ।
अर्जेन्टिना र इंग्ल्यान्डबीचको यो बहुप्रतीक्षित सेमिफाइनल नेपाली समयअनुसार बुधबार हुनेछ। विजेताले विश्वकप फाइनलमा स्थान बनाउनेछ भने हार्ने टोलीको उपाधि यात्रा यहीँ टुंगिनेछ। विश्व फुटबलका समर्थकका लागि यो खेल प्रतियोगिताकै सबैभन्दा रोमाञ्चक भिडन्त अवश्य बन्नेछ ।






































