काठमाडौं—  सर्लाहीमा आफैंमाथि पेट्रोल छर्केर आगजनी गरेका विवेक मण्डलको उपचारका क्रममा निधन भएको छ।

गडैता नगरपालिका–१० निवासी ३५ वर्षीय मण्डलको मंगलबार बिहान २ः४० बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

मण्डलले असार २६ गते आफ्नै घर नजिक पेट्रोल छर्केर आगजनी गरेका थिए। घटनापछि उनी गम्भीर घाइते भएका कारण हेलिकप्टरमार्फत काठमाडौं ल्याई बर्न अस्पतालमा उपचार भइरहेको थियो। शरीरको ठूलो भाग जलेका कारण उनको अवस्था अत्यन्तै गम्भीर रहेको प्रहरीले जनाएको थियो।

नेपालमा आत्मदाहका घटनाहरू दोहोरिन थालेका छन्। यसअघि काठमाडौंमा गणेश नेपाली र अश्विन राउतले पनि आफैंमाथि आगजनी गरेका थिए। दुवै जनाको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।