काठमाडौं। खेतमा पसिना बगाएर उत्पादन गरेको गोलभेंडाले उचित मूल्य नपाएपछि किसानहरू आक्रोशित बनेका छन्। आफ्नो पीडा सरकारसम्म पुर्याउन उनीहरूले राजधानीको माइतीघर मण्डलमा सडकभरि गोलभेंडा फालेर विरोध प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा उत्रिएका किसानहरूले गोलभेंडासहित सबै तरकारीको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न, कृषि बिमा प्रभावकारी रूपमा लागू गर्न र उत्पादनको सुनिश्चित बजार व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन्।
उत्पादन लागतसमेत नउठ्ने गरी व्यापारीले मूल्य तोक्दा महिनौंको मेहनत सडकमा फाल्नुपर्ने अवस्था आएको किसानहरूको गुनासो छ। राज्यले किसानको पसिनाको मूल्य सुनिश्चित गर्न नसके कृषि पेशा नै संकटमा पर्ने उनीहरूको चेतावनी दिएका छन्।
किसानहरूले उत्पादनको उचित मूल्य देऊ, किसानलाई बाँच्न देऊ भन्दै सरकारलाई तत्काल किसानमैत्री नीति ल्याउन दबाब दिएका छन्। माग सम्बोधन नभए आन्दोलन अझ सशक्त बनाउने चेतावनीसमेत उनीहरूले दिएका छन्।






































