काठमाडौं । अन्तिम क्षणसम्म रोमाञ्चक बनेको खेलमा नेपालले फाइनल प्रवेशको सुनौलो अवसर गुमाएको छ। एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा यूएईसँग सुपर ओभरमा पराजित हुँदै नेपाल उपाधि दौडबाट बाहिरिएको हो।

मलेसियाको वायुमास ओभल स्टेडियममा भएको प्रतिस्पर्धामा निर्धारित २० ओभरपछि दुवै टोलीले समान १०० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो। तर सुपर ओभरमा नेपालले बनाएको ७ रनको सामान्य लक्ष्य यूएईले केवल ३ बलमै विकेट नगुमाई पूरा गर्दै फाइनलको टिकट काट्यो।

यसअघि १०१ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमै १०० रनमा अलआउट भएको थियो। त्यसअघि उत्कृष्ट बलिङ गरेको नेपालले यूएईलाई १०० रनमै समेटेको थियो।

नेपालका लागि रिया शर्मा र अनु कडायतले समान ३–३ विकेट लिएर प्रभावशाली प्रदर्शन गरे। तृष्णा विश्वकर्माले २ तथा मनीषा उपाध्यायले १ विकेट लिइन्। तर बलरहरूको उत्कृष्ट प्रदर्शनलाई ब्याटिङले जितमा बदल्न नसक्दा नेपाल सुपर ओभरमा निराश बन्न पुग्यो। अब यूएईले उपाधिका लागि थाइल्यान्डसँग फाइनल खेल्नेछ।